काठमाडौँ , २ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारकालागि संघीय संसद् सचिवालयमा फिर्ता पठाउनुभएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित हुने भएको छ ।
यस विषयमा एकमतका साथ जाने अभिप्रायले सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा नागरिकता विधेयकमा कसरी अघि बढ्ने भन्नेबारे सहमति जुटेन ।
कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले भने केही समय लगाएर थप छलफल हुनुपर्ने माग गरेको थियो ।
कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले राष्ट्रिय जरुरी महत्त्वको विषय मानेर नागरिकता विधेयक आजकै प्रतिनिधिसभा बैठकबाट पारित गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले प्रमुख प्रतिपक्षबाट बोली फेर्ने काम भएको बताउदै सदनमा एउटा कुरा बोल्ने समितिमा अर्कै भनेर विधेयकलाई यसलाई राष्ट्रिय आवश्यकता मानेर जस्ताको तस्तै पारित गर्न आग्रह गर्नुभयो ।
एमालेले भने प्रधानमन्त्री वा सभामुखले सर्वदलीय बैठक बोलाएर राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयकमा छलफल हुनुपर्ने धारणा राखेको थियो ।
एमाले सांसद कृष्णभक्त पोखरेलले अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर सबैका धारणा सुन्नुपर्ने बताउनुभयो ।
एमालेकै प्रतिनिधि शेरबहादुर तामाङले भने सभामुख सापकोटाले नै नागरिकता विधेयकमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो ।
सरकारमा रहेका माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र प्रतिपक्षमा रहेको लोसपाले पनि नागरिकता विधेयक पारित गर्नुपर्ने बताएका थिए ।
उनीहरूले नागरिकता विधेयक पारित आजकै बैठकबाट गर्नुपर्ने पार्टीको लाइन सुनाएका थिए ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द शर्मा कोइरालाले नागरिकता विधेयकमा सबै दलहरूले स्वीकार गरेका विषय रहेकाले पारित गर्नुपर्ने बताउनुभयो ।
सत्ता र प्रतिपक्षले नागरिकता विधेयकमा के गर्ने भन्ने आ(आफ्नै अडान राखेपछि सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालले कानुनअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।


















