Prakash Adhikari August 19, 2022

काठमाडौँ, ३ भाद्र । भगवान् श्रीकृष्णको जन्मदिनको रुपमा आज देशभरका कृष्ण मन्दिरमा विभिन्न कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै छ ।

कृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनहरुको मेला लागेको छ ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीहरुले कृष्णाष्टमीका दिन भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गर्दछन् ।

भगवान श्री कृष्णलाई भगवान विष्णुको दशावतारमध्ये कै एक अवतारको रुपमा लिइन्छ ।

दशावतारमा मत्स्य अवतार, कूर्म अवतार , बराह अवतार, नृसिँह अवतार, वामन अवतार, परशुराम अवतार ,श्रीराम अवतार, कृष्ण, बलराम वा बुद्ध र कल्की अवतार मानिन्छ ।

दशावतारमा कृष्णलाई नमान्ने परम्परामा , कृष्णलाई सम्पूर्ण अवतारको मूल मानिन्छ । कल्की बाहेक सबै अवतारहरु पृथ्वीमा देखा परि सकेका छन् । कल्की कलि युगको अन्तिम समयमा प्रकट हुने विश्वास गरिएको धर्मग्रन्थहरुमा पाइन्छ ।

भगवान कृष्णलाई आसुरी प्रवृत्तिको नाशक, प्रेमका पुजारी, सत्यका पक्षधर, संकटमोचक वा उद्धारकर्ताको रुपमा पुजिन्छ ।

महाभारत युद्धमा भगवान श्रीकृष्णको सदभाव,साथ र सहयोग पाएकोले सत्यका पक्षधर पाण्डवहरुको विजय भएको र अन्यायका पक्षधर कौरबहरु परास्त भएको बताइन्छ ।

सत्यका पक्षधर, संकटमोचक भगवान श्रीकृष्णको पूजाआजा आज भक्तिपूर्वक गरिदै छ ।
राजधानी काठमाडौं उपत्यकामा बिहानै देखि ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा पूजा गर्नेहरुको लामो लाइन लागेको छ ।

दर्शनार्थीहरुलाई पूजाका लागी दुई लाइनको व्यवस्था मिलाइएको छ । स्वयंसेवकहरुले उनीहरुलाई पालैपालो दर्शन गर्ने व्यवस्था गरिएको छ भने प्रहरीलाई मन्दिर परिसरमा सुरक्षाका लागि खटाइएको छ ।

आज कृष्ण मन्दिरमा भगवान कृष्णको दर्शन, पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र घुम्न जानेहरुको मेला लागेको छ ।

यसै अवसरमा ललितपुरको पाटन कृष्णमन्दिरमा दशनार्थीको भीड लागेको छ ।

पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्ण को दर्शन गर्न राष्ट्र प्रमुख पनि जाने चलन छ ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रहेको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

सन्देशमा यो पर्वले आपसी सद्‍भाव, करुणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ ।

विश्‍वभरिका हिन्दु धर्मावलम्बीले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको स्मरण गर्दै शुभकामना सन्देशमा उहाँले त्यसले सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ ।

उहाँले काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको उल्लेख गर्नुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना सन्देश दिँदै सम्पूर्ण हिन्दु धर्मावलम्बीका लागि आराध्यदेव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भिक रहेको बताउनुभएको छ ।

कृष्ण जन्माष्टमीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले कृष्णभक्तिको महिमाले समाजमा शान्ति, अहिंसा, सहिष्णुता, सद्भाव र सदाचार प्रवद्र्धन हुने उल्लेख गर्नुभएको छ ।

Share Now

Leave a comment.