काठमाडौं, ४ भाद्र । माथिल्लो तामाकोसी हाइड्रोपावरले दुई जलविद्युत आयोजनामा लगानी गर्न शतप्रतिशत हकप्रद जारी गर्ने भएको छ।
कम्पनीको शुक्रबार भएको १४औं वार्षिक साधारणसभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ।
हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ छ।
कम्पनीले कायम सो चुक्ता पुँजी बराबरको हकप्रद जारी गर्ने तयारी गरेको हो। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजीको आकार २१ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ।
कम्पनीको सहायक आयोजना रोल्वालिङ खोला जलविद्युत र तामाकोसी ५ जलविद्युत आयोजनाको निर्माणमा हकप्रदबाट उठेको रकम लगानी गर्ने जनाएको छ ।
रोल्वालिड. आयोजनाका लागि करिब साढे ६ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ।
यो आयोजना सञ्चालनमा आएसँगै राष्ट्रिय ग्रीडमा २० मेगावाट विद्युत थपिने छ। रोल्वालिङ क्यास्केडको सहायतामा तामाकोसीले ड्राइ सिजन (सुक्खायाम) मा पनि ६ घण्टा ४५६ मेगावाट पिकिङ इनर्जी दिन सक्नेछ।
आयोजनाले अहिले ड्राइ सिजनमा ४ घण्टामात्रै ४५६ मेगावाट दिन्छ।
यस्तै निर्माणाधीन अवस्थामा रहेको तामाकोसी ५ जलविद्युत आयोजनाका लागि पनि सोही हकप्रदबाट लगानीको जोहो गर्दै छ। प्राधिकरणले निर्माण गर्ने यो आयोजना माथिल्लो तामाकोसीकै पूर्वाधार प्रयोग गरेर निर्माण हुनेछ।
आयोजनाको दुई वर्ष पहिले नै विस्तृत डिजाइन तयार भइसकेको छ। अहिले साइट क्याम्प, अफिस निर्माण लगायतका कामहरु सुरु भएको छ।
जर्मन कम्पनीले दिएको अध्ययन प्रतिवेदन अनुसार आयोजनाका लागि १६ अर्ब ३३ करोड रुपैयाँ (ब्याजबाहेक) लाग्ने छ।
त्यसका लागि ७० प्रतिशत (११ अर्ब ३३ करोड रुपैयाँ) कर्मचारी सञ्चय कोषले ऋण लगानीका लागि सहमति भइसकेको छ। अहिलेसम्म सेयर संरचना भने तय भएको छैन।
कुल लगानीको १० देखि १५ प्रतिशत हिस्सा माथिल्लो तामाकोसीले समेत लिएको हो। दोलखाको सुरी दोभानमा पावर हाउस (विद्युत गृह) रहने यो ९९. ८ मेगावाटको क्यासकेड आयोजना हो।
आयोजनामा कसको कति ऋण ?
नेपाल सरकार र कम्पनीको अन्य संस्थापक सेयरधनी नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले कुल ४६ अर्ब ८८ करोड रुपैयाँ ऋण दिएका छन्।
विद्युत प्राधिकरणले कम्पनीलाई २ अर्ब अल्पकालीन ऋण समेत दिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब ६३ करोड रुपैयाँको अल्पकालीन कर्जा छ।
विद्युत उत्पादनको ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युतले गत आर्थिक वर्षको अन्त्यसम्म कुल ७ अर्ब १७ करोड रुपैयाँ विद्युत बिक्री गरेको छ। कम्पनी भने नोक्सानीमा छ। पछिल्लो तथ्यांक अनुसार कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँको घाटा व्यहोरेको हो। गत आर्थिक वर्ष मात्र कम्पनीले ५ अर्ब ६२ करोड रुपैयाँ ब्याज र उधारो रकम तिरेको छ। कम्पनीको दीर्घकालीन कर्जा झन्डै ७४ अर्ब रुपैयाँ छ।
माथिल्लो तामाकोसी आयोजनामा विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २.२ प्रतिशत, कर्मचारी सञ्चय कोषको १७.२८ प्रतिशत, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व छ।