Prakash Adhikari August 20, 2022

 

काठमाडौं, ४ भाद्र । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।
कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै शनिबार साँझ ९ः३० बजे निधन भएको जानकारी दिएको हो ।

नेता गिरिको स्वास्थ्य अवस्था विगत केही दिन यता खस्किदै गएको थियो । क्यान्सरको उपचारले गल्नुभएका गिरिमा निमोनिया थपिएपछि हिजो शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उहाँको उपचार सुरु गरिएको थियो ।

उहाँको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नआएपछि नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा गत मंगलबार उहाँलाई भेट्न मेडिसिटी अस्पताल पुग्नुभएको थियो ।

उहाँको स्वास्थ्य अवस्था निकै नाजुक भएपछि शुक्रबार साँझ उहाँका बारेमा निराशाजनक समाचार पनि फैलिए ।

भेन्टिलेरमै रहनुभएका उहाँलाई भेटन शनिवार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारी पनि मेडिसिटी अस्पताल पुग्नुभएको थियो ।

भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किनुभएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता उहाँ मेडिसिटी अस्पताल, नख्खुमा भर्ना हुनुभएको थियो ।

निमोनिया फैलिँदै गएर उहाँको फोक्सोले पनि काम गर्न छाडेको चिकित्सकहरुले बताएका थिए ।

उहाँको पार्थिव शरीरलाई भोलि आइतबार विहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ ।

बिहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिनुभएको छ।

समाजवादी चिन्तक

प्रदीप गिरिको जन्म माता पुण्यप्रभा गिरीको कोखबाट सिरहाको बस्तीपुरमा २००४ सालमा भएको हो । उहाँका बुवा मित्रलाल गिरी पनि नेपाली कांग्रेसको राजनीतिमा हुनुहुन्थ्यो । गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताउनुभएको छ ।

२०५१ सालको मध्यावधि निर्वाचनपछि मात्रै संसदीय राजनीतिमा पदार्पण गर्नुभएका गिरी त्यस बेला मध्यावधि निर्वाचनमा सिरहा क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभयो । २०५६ मा भने उहाँ पराजित हुनुभयो । २०६४ र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उहाँ समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न हुनुभयो ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ सिरहा क्षेत्र नं. १ बाट चुनाव लडनुभयो । बाम गठबन्धनका बीच पनि उहाँले चुनाव जित्नुभयो । उहाँ प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य हुनुहुन्थ्यो ।

संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्नुहुन्छ ।

मधेसी जनताको भावनालाई नजिकबाट बुझ्नुभएका गिरिले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गर्नुभएन ।

Share Now

Leave a comment.