काठमाडौँ, ५ श्रावण । सत्तारूढ दल माओवादी केन्द्रले महाधिवेशन सकिएको आठ महिनापछि पदाधिकारी चयन गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका पदाधिकारीको नाम पारित भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभएको छ ।
विशेष महाधिवेशनसम्मका लागि मात्रै पदाधिकारीलाई पूर्णता दिइएको भनिए पनि महाधिवेशनको मिति यकिन भएको छैन ।
‘हामीले विशेष महाधिवेशन गर्ने निर्णय गरेका छौं, अहिलेका लागि निर्वाचनलाई ध्यान दिएर पदाधिकारी बनाइएको छ, विशेष महाधिवेशनले नयाँ चयन गर्छ,’ महराले भन्नुभयो ।
पार्टी महाधिवेशनलगत्तै पौषमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्षमा दाहाललाई चयन गरेको थियो । गत असारमा बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा महरालाई चयन गरेको थियो ।
शनिबारको स्थायी कमिटी बैठकले महासचिवमा देव गुरुङलाई चयन गरेको छ भने ७ जनालाई उपमहासचिव बनाएको छ ।
उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव चयन हुनुभएको छ ।
माओवादीले ९ जना सचिव बनाएको छ । जसमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की हुनुहुन्छ । कोषाध्यक्षको जिम्मा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाललाई दिने निर्णय बैठकले गरेको छ ।
बैठकमा दाहालले प्रस्ताव गर्नुभएको नामलाई लिएर शर्मा, गजुरेल र पोखरेलले असन्तुष्टि पोख्नुभएको थियो । ‘जनार्दनजीको सिधा–सिधा असहमति थियो, लीलामणिजीले मलाई चित्त बुझेन तैपनि निर्णय मानेर जान्छु भन्नुभयो, हरिबोलजीले पनि चित्त बुझाउनुभएको छैन,’ स्थायी कमिटीका एक नेताले भन्नुभयो।
महासचिवमा शर्मा र पुनको दाबी कायम रहेपछि दाहालले तेस्रो विकल्पका रूपमा गुरुङलाई महासचिव बनाउनुभएको हो ।
२१ सदस्यीय पदाधिकारीमा एक मात्र महिला परेकामा असन्तुष्टि देखिएको छ ।
माओवादीको महाधिवेशनमा पदाधिकारीमा ३३ प्रतिशत महिला समावेश गरिनुपर्ने माग जोडतोडले उठेको थियो । स्थायी कमिटी सदस्य अञ्जना बिशंखे नेतृत्वले महिलालाई पदाधिकारीमा लैजान नचाहेकोमा आलोचना गर्नुभएको छ।
माओवादीमा धेरै प्रयत्नपछि केन्द्रीय र स्थायी कमिटीलाई समावेशी बनाउन सकिएको उहाँको तर्क छ ।
माओवादीको ४३ सदस्यीय स्थायी कमिटीमा पहिलो पटक १० जना महिला समावेश भएका छन् । १ सय २५ पूर्ण र ७२ वैकल्पिकसहित १ सय ९७ सदस्यीय पोलिटब्युरो गठन भएको छ । पोलिटब्युरोमा एकतिहाइ महिला समेटिएका छन् ।
शनिबारको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति पनि गठन गरेको छ । जसमा महासचिव गुरुङसहित गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोखरेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मीनबहादुर श्रेष्ठ, मीरा ढुंगाना र कृष्ण चौधरी रहनुभएको छ ।
नेकपा माओवादीले पदाधिकारी चयन गर्दा पार्टीको विधान मिचेको र समावेशी–समानुपातिक सिद्धान्त पनि अवलम्बन नगरिएकोमा पनि आलोचना सुरु भएको छ ।
गत पौषमा पारित पार्टी विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि स्थायी कमिटीले २१ सदस्यीय बनाएको छ ।
२१ सदस्यमा महिला पम्फा भुसाल मात्रै पर्नुभएको छ भने दलित कोही पनि परेका छैनन् । सुदूरपश्चिम प्रदेशबाट पनि कसैलाई समेटिएको छैन ।


















