काठमाडौँ, ७ भाद्र। नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको परराष्ट्र सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानका निर्देशक डा.दीपककुमार अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो ।
सो सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले १० भदौमा उदघाटन गर्ने र सम्मेलनको समापन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन र कार्य गरिरहेका ४० वर्षमुनिका विज्ञहरू सहभागी हुनेछन् । भारतबाट ३८ जना विज्ञ आउनेछन् भने जम्मा ७० जना विज्ञ सहभागी हुने छन् ।
निर्देशक अधिकारीले भन्नुभयो, ‘‘नेपालले भविष्यमा कस्ता नीतिहरूको आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्नेछ ।’’
नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा. विनयकुमार मिश्रले जानकारी दिनुभयो ।
सेमिनारमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ ।
वर्तमान युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने लक्ष्य युवाका मनमा रहेको छ भन्ने कुराको समेत त्यस कार्यक्रमबाट समाजले थाहा पाउने अवसर हुनु पर्दछ भन्ने आयोजकको ध्येय रहेको छ ।


















