काठमाडौं, ७ भाद्र। काउन्टर ग्यारेन्टी बसेको करिब एक दशकपछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू(बीओके)को खातामा पैसा फिर्ता आएको छ ।
हिमालयन र बीओकेले स्टाण्डर्ड चार्टर्ड बैंकमा खोलेको खातामा चिनियाँ रेल्वे ब्यूरोबाट पैसा जम्मा भएको हो ।
बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर अर्थात (आजको विनिमय दर १ डलर बराबर १२७.७५ पैसामा हिसाब गर्दा ८४ करोड ६३ लाख ५६ हजार ५ सय २० रुपैया) तथा १४ लाख ११ हजार ४ सय ५३ युरो( आजको विनिमय दरमा १७ करोड ९१ लाख १३ हजार ३ सय ८५ रुपैया ७० पैसा)गरी १ अर्ब २ करोड ५४ लाख ६९ हजार ९ सय ५ रुपैया ७० पैसा फिर्ता पाएको छ ।
त्यतै हिमालयन बैंकले ६६ लाख अमेरिकी डलर( मंगलबारको विनिमय दर १ डलर बराबर १२७.७५ को दरमा) ८४ करोड ३१ लाख ५० हजारको काउन्टर ग्यारेन्टी दिएको थियो ।
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पैसा फिर्ता आएको जानकारी दिनुभएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङको ठेक्का चाइना रेल्वेले पाएको थियो । सम्झौता अनुसार काम गर्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाले चाइना रेल्वेसँग ठेक्का तोडेपछि कम्पनी नेपाल छोडेर हिड्रयो । उसले काउन्टर ग्यारेन्टी वापतको पैसा हिमालयन र बीओकेलाई तिर्ने सुरसारै गरेन ।
चाइना रेल्वेले ठेक्का पाएको बेला ग्यारेन्टी चीनको चाइना कन्सट्रक्सन बैंकले दिएको थियो । त्यसको काउन्टर ग्यारेन्टी नेपालका हिमालयन बैंक र बिओके बसेका थिए ।
सम्झौता अनुसार काम नगरेपछि चाइना रेल्वेले ग्यारेन्टी वापतको पैसा दिनुपर्ने थियो । उसले पैसा तिर्न नसक्ने भन्दै चिनियाँ अदालतमा मुद्दा दायर गरेको थियो ।
नेपालमा मेलम्ची खानेपानी आयोजनाले हिमालयन बैंक र बीओके विरुद्ध मुद्दा दायर गरेको थियो । नेपालमा मुद्दा परेसँगै राष्ट्र बैंकले काउन्टर ग्यारेन्टी बसेर आयोजनालाई तिनुपर्ने बराबरको रकम ‘एअरमार्क’गरेर राखेको थियो । पछि अदालतको आदेश अनुसार मेलम्ची खानेपानी आयोजनालाई पैसा हिमालयन र बीओकेले भुक्तानी गरे ।
यता चिनिया कम्पनीले आफूलाई सो रकम नदिएपछि हिमालयन र बीओकेले चाइना रेल्वे र चाइना कन्सट्रक्सन बैंकसँग मुद्दा लडे ।
गतसाता चीनको उच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेपछि नेपाली बैंकको पौने २ अर्बभन्दाबढी रुपैयाँ फिर्ता आएको हो ।
दुई बैंकले आयोजनालाई पैसा भुक्तानी गरेपछि नाफाबाट सो वापतको रकम प्रोभिजन गरेका छन् । चिनियाँ अदालतको आदेशसँगै पैसा फिर्ता पाएपछि हिमालयन र बीओकेको सेयरधनीले पाउने लाभांशसमेत बढ्ने छ ।


















