काठमाडौं, ११ भाद्र । नेकपा एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि v सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको छ।
एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन पारित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको हो।
बैठकपछि एमाले उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिल्लाको सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय समितिले प्रदेश सभा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको बताउनु भयो ।
“एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला कमीटीले प्रतिनिधिसभा सदस्य सिफारिस गर्ने निर्णय भएको छ। सिफारिसको अन्तिम निर्णय केन्द्रले गर्छ”, उपमहासचिव गुरुङले भन्नुभयो ।
एमालेको समन्वय कमिटीले एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ / ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ।
एमालेले उम्मेदवार छनौटको मापदण्ड पनि तय गरेको छ।
पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुन बमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउने मापदण्ड तय गरिएको छ ।
भाद्र २२ भित्र उम्मेदवार सिफारिस
एमालेले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गतेभित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ।
एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भएँ भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ।
एमालेले निर्वाचन परिचालनमा युवाहरुलाई समेट्ने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ।
एमालेले अनेरास्ववियू, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आबद्ध युवाहरुलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ।
बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति कार्यान्वयन गर्ने जनाएको छ।
गुरुङका अनुसार बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगका सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ।
बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानबिनन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो।
त्यसैगरी पार्टीको केन्द्रिय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगति विवरण बैठकमा प्रस्तुत गरेको थियो।


















