नयाँदिल्ली(भारत), १५भाद्र । नेपालको डोटी जिल्लामा पर्ने सेती नदीमा बाँध बाँधेर पश्चिम सेती र सेती नदी–६ को निर्माण गर्ने समझदारी गरेको भारतीय कम्पनी एनएचपीसी इन्डिया लिमिटेडले बिजुली गतिमा काम गरेको छ ।
उसले नेपालमा १२ सय मेगवाट क्षमताको विद्युत उत्पादन गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको १५ दिन नपुग्दै यी आयोजनाबाट उत्पादिन विद्युत बिक्री गर्न भारतको पावर ट्रेडिङ कम्पनी (पीटीसी) इन्डियासंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
एनएचपीसीले भाद्र २ गते बिहिबार लगानी बोर्ड नेपालसंग ती दुई आयोजना विकास गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । अब कम्पनीले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत परियोजनाको थप अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन बनाउने छ । त्यसपछि निर्माण अनुमति लिएर निर्माण कार्य सम्पन्न गर्न छ ।
उत्पादित बिजुली विक्रीका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएकोले यो आयोजनाको विकासक एनएचपीसीलाई आयोजनामा कर्जा लिन सजिलो हुने छ ।

उत्पादित विजुली किन्ने क्रेताको सुनिश्चित नभएकोले यो आयोजना दशकौंसम्म निर्माणको चरणमा पुग्न सकेको थिएन ।
उत्पादित विद्युत खरिदको लागि भएको एमओयूमा एनएचपीसीका सीएमडी एके सिंह र पीटीसी इन्डियाका सीएमडी राजीवकुमार मिश्रले हरियाणाको फरीदाबादस्थित एनएचपीसी कर्पोरेट कार्यालयमा हस्ताक्षर गर्नुभएको बताइएको छ ।
दुई जलविद्युत आयोजनाको विकास गर्न कम्पनीले नेपालमा १८ हजार करोडभन्दा बढी लगानी गर्ने बताएका थिए ।



















