किर्कुक(इराक), ३ कार्तिक(बीबीसी) । इराकी सेनाले किर्कुक क्षेत्रमा आफ्नो पकड दह्रो पार्नका निम्ति कारबाही थालेपछि त्यहाँ उसको कूर्दिश फौजसंग भिडन्त भएको छ।
इराकी सेनाका अनुसार कूर्दिश सुरक्षा फौजको नियन्त्रणमा रहेका अन्तिम जिल्ला पनि उसले अब आफ्नो नियन्त्रणमा लिएको छ।
प्रयास
घटनास्थलमा रहेका बीबीसी सम्वाददाताले आफूले दुई फौजबीच रकेट, गोलाबारुद तथा मशीन गनबाट एकअर्का विरुद्ध प्रहार भएको देखेको बताएका छन्।
सो क्षेत्र कूर्दिश पेशमेर्गा लडाकूहरुले नियन्त्रणमा लिइरहेको किर्कुक प्रान्तको अन्तिम जिल्ला
हो।
केही दिन यता इराकी सरकारले उत्तरी इराकको ठूलो भूभागमा आफ्नो नियन्त्रण जमाउने प्रयास गरिरहेको छ।
उसले कूर्दिश लडाकूहरुले कब्जा गरिराखेको क्षेत्र खोस्न सेना पठाएको छ।
सन् २०१४ देखि कूर्दिश नियन्त्रणमा रहेका विशाल भूभागलाई इराकी सेनाले यो साता आफ्नो नियन्त्रणमा लिएको छ।
दावी
इराकी सेना तथा उसका गठबन्धन सहयोगी मिलिसियाले आधिकारिक रुपमा स्वीकृति प्राप्त कूर्दिश्तान रिजन अफ इराक केआरआइ भनिने कूर्दिश इलाकाबाट स्थानीय फौजलाई पछाडी धकेलिदिएका छन्।
जातीय रुपमा मिश्रित बसोबास रहेको तेल धनी प्रान्त किर्कुकलाई बग्दादको केन्द्रिय सरकार र केआरआइ दुवैले दावी गर्दै आएका छन्।
कूर्दिश सरकारले स्वतन्त्रताका पक्षमा जनमतसंग्रह गराएपछि इराकी प्रधानमन्त्री हैदर अल अबादीले त्यहाँ सैन्य कारबाहीको आदेश दिएका हुन्।
सो चुनावलाई अबादीले अवैध भनेका छन्।