Prakash Adhikari September 8, 2022

 

क्यानबेरा(अष्ट्रेलिया), २३ भाद्र । । अस्ट्रेलियाले विदेशीले पाउने स्थायी आप्रवासनसम्बन्धी कोटा बढाएपछि त्यसको लाभ नेपालीहरूले पनिूउठाउन सक्ने सम्भावना बढेको अस्ट्रेलियामा स्थायी बसोबास गरिरहेका नेपालीहरूले बताएका छन्।

उनीहरूका भनाइमा अस्ट्रेलियाले बढाएको कोटाको फाइदा दक्ष नेपालीहरूले पनि उठाउन सक्नेछन्।

देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक अस्ट्रेलियाले स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।

चालु आर्थिक वर्ष ९जुलाईदेखि जुनसम्म)मा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५ हजारले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।

कोभिड महामारी र सीमासम्बन्धी अस्ट्रेलियाको कडा नीतिका कारण उक्त देशका धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ।

नेपालीलाई हुनसक्ने फाइदा
स्थायी आप्रवासनका लागि बढेको कोटा नेपालीका लागि मात्र चाहिँ होइन।

तर त्यसले दक्ष नेपाली जनशक्तिलाई अस्ट्रेलियामा स्थायी बसोबासका लागि थप सहज हुने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका महासचिव राजुबाबु अधिकारी बताउनुहुन्छ।

अस्ट्रेलियाका दर्तावाला माइग्रेसन एजेन्ट समेत रहनु भएका उहाँले उक्त प्रावधानले दक्ष नेपालीका लागि थप अवसरको ढोका खोलेको बताउनुभयो।

“अहिले यहाँ दक्ष जनशक्तिको अभाव देखिएकाले कोटा बढेको हो”, अधिकारीले भन्नुभयो , “स्थायी आप्रवासनसम्बन्धी नियमहरूमा परिवर्तन भएको होइन। एक वर्षमा कति व्यक्तिलाई त्यस्तो अनुमति दिने भन्ने कोटा मात्र बढेको हो।”

उहाँका भनाइमा नेपालीको उपस्थिति धेरै भएकाले अस्ट्रेलियामा नेपालीहरूलाई व्यवस्थित हुनका लागि पनि सहज हुन्छ।

“कम खर्चिलो र नेपालबाटै स्थायी बसोबासका लागि आवेदन पनि दिन सकिने भएकाले दक्ष नेपालीहरूका लागि यो एउटा राम्रो अवसर हुनसक्छ”, उहाँले भन्नुभयो।

अस्ट्रेलिया

अस्ट्रेलिया

अहिले दक्ष कामदारको कोटामा जानेहरूले आफू जेमा दक्ष हो सोही काम गर्न पाउने उहाँको भनाइ छ।

मेलबर्नको एउटा स्वास्थ्य संस्थामा कार्यरत नर्स प्रतिभा थापा पनि यो दक्ष नेपाली जनशक्तिका लागि राम्रो अवसर भएको बताउँनुहुन्छ ।

“यहाँ अहिले चाहिने जति जनशक्ति छैन, स्वास्थ्य संस्थामा जति आवश्यक पर्ने हो त्यति सङ्ख्यामा मानिसहरू छैनन्”,उहाँले भन्नुभयो, “त्यसलाई पूर्ति गर्नका लागि आवश्यक मानिस खोजिएकाले दक्षता भएका नेपालीलाई यो राम्रो अवसर हो।”

कुन क्षेत्रलाई सहज ?

अधिकारीका अनुसार अस्ट्रेलियामा जुलाई १ तारिखदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएकाले त्यसै बेलादेखि नयाँ कोटा लागु भइसकेको छ।

त्यस अनुसार सन् २०२३ जुनसम्ममा अस्ट्रेलियाले एक लाख ९५ हजार दक्ष व्यक्तिलाई स्थायी बसोबास अनुमति दिनेछ।

उक्त प्रक्रिया अन्तर्गत कुन क्षेत्रमा कति कामदार लिने भनेर पनि पनि निर्धारण हुने उनले बताए।

अस्ट्रेलिया सरकारले सार्वजनिक गरेको जानकारी अनुसार अहिले त्यहाँ देशभरि विभिन्न किसिमका जागिरका लागि ४ लाख ८० हजार पदहरू रिक्त छन्।

अस्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन्।

पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्।

क्यान्बेरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालहरूमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो।

अधिकारीले दिएको जानकारी अनुसार इन्जिनियर, सूचना प्रविधि क्षेत्र र होटल एवम् रेस्टुरेन्ट क्षेत्रका दक्ष जनशक्तिले नेपालबाटै स्थायी बसोबासका लागि आवेदन दिन सक्छन्।

स्वास्थ्य तथा चिकित्सा क्षेत्रका दक्ष जनशक्तिका लागि पनि अवसर रहेको छ।

यद्यपि स्वास्थ्य क्षेत्रको जनशक्तिका लागि भने अस्ट्रेलियामा दर्ता हुने प्रक्रिया अलि जटिल रहेको अधिकारीले बताउनुभयो।

दक्ष जनशक्तिलाई उनीहरूको दक्षता र अनुभवका आधारमा पाउने अङ्कभार अनुसार अस्ट्रेलियाले स्थायी बसोबास अनुमति दिने वा नदिने निर्णय गर्ने गर्छ।

त्यसको सुरुको प्रक्रिया भनेको जुन क्षेत्रमा आफ्नो दक्षता हो त्यो क्षेत्रमा नियमन गर्ने अस्ट्रेलियाली निकायबाट त्यसको मूल्याङ्कन (एसेस्मेन्ट) गराउनु पर्छ।

त्यसबाट आफ्नो योग्यता पुग्ने भएमा अन्य थप दक्षता र अनुभवका आधारमा आवेदन दिन सकिने अधिकारीले जानकारी दिनुभयो ।
ूस्किल एसेस्मेन्ट र अङ्ग्रेजी भाषाको दक्षताका आधारमा यहाँ दक्ष जनशक्तिलाई लिने गरिन्छ,ू उहाँले भन्नुभयो ।

उहाँका अनुसार अस्ट्रेलियामा नेपालीले पाएको शिक्षाको समकक्षता पनि लिनुपर्ने हुन्छ।

ती सबै प्रक्रिया पूरा गरेर नेपालीले दर्ता भएका त्यहाँका माइग्रेसन एजेन्टमार्फत पनि आवेदन दिनसक्ने उहाँको भनाइ छ।

अस्ट्रेलियामा स्थायी आप्रवासी
सन् २०१० को मध्यमा अस्ट्रेलियामा स्थायी आप्रवासन प्रतिवर्ष लगभग १ लाख ९० हजार पुगेको थियो।

त्यो सन् २०१७ ताका घट्यो। किनभने त्यस बेला आप्रवासन राजनीतिक विवादको विषय बन्न पुगेको थियो।

त्यसबेला व्यापारी, युनियनमा संलग्न व्यक्तिहरू तथा प्रतिपक्षी दलका नेताहरूले थप आप्रवासी आवश्यक पर्नेमा जोड दिएका थिए।

महामारीको समयमा बसाइँसराइ कम भएको भए पनि सन् २०१६ यता १० लाखभन्दा बढी मानिस अस्ट्रेलियामा बस्न गएका छन्।

सन् २०२१ मा गरिएको जनगणनाअनुसार अस्ट्रेलियाको जनसङ्ख्या २ करोड ५५ लाख पुगेको छ।

पहिलो पटक अस्ट्रेलियामा आधाभन्दा बढी जनसङ्ख्या विदेशमा जन्मिएका वा आमाबाबु विदेशमा जन्मिएका व्यक्तिको भएको ‍खुलेको छ।

त्यो सन् २०१६ को तुलनामा २१ लाख बढी हो। त्यहाँको जनसङ्ख्याको औसत आयमा केही वृद्धि भएको छ।

आधुनिक अस्ट्रेलियालाई आप्रवासीहरूले बनाएको देश भनेर चिनिन्छ।(बीबीसी नेपालीबाट)

Share Now

Leave a comment.