काठमाडौं, २७ भाद्र । नेपालको निजी क्षेत्रको सबैभन्दा पुरानो हवाई सेवा बुध्द एयरले कारोना कालको संकटलाई बिर्साउने ढंगले सेवा सञ्चालन गरेको छ र यसको सन २०२२ को ९ महिनाको आम्दानी कोरोनापूर्वको नियमित आम्दानीभन्दा राम्रो हुन थालेका छ ।
बुद्ध एअरले ९ महिनाको अवधिमै साढे ७ अर्ब बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७ अर्ब ६९ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँ आम्दानी गरेको हो ।
कम्पनीले सन् २०२१ मा ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, सन् २०२० मा ४ अर्ब ९४ करोड २० लाख रुपैयाँ, सन् २०१९ मा ६ अर्ब ८० करोड ८० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
बुद्ध एअरले काठमाडौका अलवा पोखरा विमानस्थलबाट पनि आन्तरिक विमानस्थलमा उडान सुरु गरेको छ । यसले पनि उसको ब्यापारबृद्धिमा सहयोग पुगेको छ । २०२२ को ९ महिनाको अवधिमा आन्तरिक हवाई उडानमा यात्रुको संख्या उल्लेख्य बढ्दा राम्रो आम्दानी गरेको जनाएको छ ।
बुद्ध एअरले अहिले नेपालका भद्रपुर,विराटनगर, राजविराज,जनकपुर,सिमरा, भरतपुर,पोखरा,काठमाडौ, तुम्लिड.टार, भैरहवा(गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल),नेपालगञ्ज,सुर्खेत र धनगढीमा उडान सेवा दिइरहेको छ ।
भारतको कोलकोत्ता, गुवाहाटी, बनारस,पटना, लखनऊ र भुटानको पारोमा पनि उडान थालेको बुद्ध एअरले हाल बनारस सेक्टरमा मात्र नियमित उडान गरिरहेको छ । यसले अन्तर्राष्ट्रिय तर्फको ३ प्रतिशत हिस्सा ओगटेको छ । पहिले १ प्रतिशत मात्र थियो । कोरोनाका कारण विगतमा उडान गरिरहेका मध्ये कतिपय एअरलाइन्सको काठमाडौं उडान बन्द र कतिपयको कटौती भएकोले बुद्धको हिस्सा बढ्न गएको हो ।
१९९६ मा स्थापना भएको बुद्ध एअरले १९९७ अक्टोबर ११ देखि उडान शुभारम्भ गरेको हो । सुरुमा एक विचक्राफ्ट विमानबाट उडान थालेको बुद्ध एअरसंग अहिले १६ वटा विमान रहेका छन् ।
बुद्धसंग २ वटा १९ सीट युक्त विच १९०० डी, ३ वटा ४७ जना यात्रु क्षमता भएको एटीआर ४२ -३२० र ११ वटा ७२ जना यात्रुबाहक क्षमतायुक्त एटीआर ७२-५०० विमानहरु रहेका छन् । बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै आईएफसीसंग कर्जा लिएर अत्याधुनिक ह्यांगर पनि निर्माण गरी सञ्चालन गरिरहेको छ जहाँ यसका विमानहरुको नियमित मर्मतसंभार हुने गर्दछ ।
निर्वाचन आयोगका संस्थापक प्रमुख आयुक्त, नेपाल प्रेस काउन्सिलका प्रथम अध्यक्ष, नेपाल कानुन आयोगका अध्यक्ष,पूर्व न्याय,कानून तथा शिक्षा र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालको जिम्मेवारी सम्हालिसक्नुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश सुरेन्द्रबहादुर बस्न्यात अध्यक्ष रहनुभएको बुद्ध एअरलाई उहाँकै सुपुत्र बीरेन्द्रबहादुर बस्न्यातले कुशलतापूर्वक हाँकिरहनुभएको छ ।
विगत २४ बर्षको अवधिमा बुद्ध एअरले १ करोड ३६ लाखभन्दा बढी यात्रुहरुलाई सेवा पुर्याएको जनाएको छ ।
११ अक्टोबर १९९७ मा क्याप्टेन आरके शर्मा र अमेरिकी पाइलट क्याप्टेन सेन्ट जर्मेनले बुद्धको पहिलो १९ सीटे बिचक्राफ्ट एअरमा १६ यात्रुलाई सगरमाथा क्षेत्रको माउण्टेन उडान गरेर यसको प्रथम उडान शुभारम्भ गर्नुभएको थियो । यसको कल साइन नाइन एन एईई(9N-AEE)थियो भने उडान नं बीएचए १००(BHA 100) ।


















