काठमाडौँ,३१ । नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवम् पूर्व महासमिति सदस्य पाल्पाका विजयराज घिमिरेको बिहिबार बेलुका निधन भएको छ ।
लामो समयदेखि क्यान्सरबाट पिडित रहनु भएका घिमिरेको काठमाडौस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।
२०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा क्षेत्र नं १ बाट नेपाली कांग्रेसको प्रतिनिधि सभा सदस्य उम्मेदवार रहनुभएका घिमिरेको निधनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिनुभएको छ ।
उहाँको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
जिउँदो शहीदको रुपमा चिनिनुहुने घिमिरेका बारेमा पत्रकार जीवनभण्डारीले उहाँको योगदानलाई समेटेर तयार पार्नुभएको एक लेख ः
बरिष्ठ चार्टर एकाउन्टेन्ट समेत रहनु भएका घिमिरेलाई नेपाली राजनीतिमा जिउदो सहिद समेत भन्ने गरिन्छ । पहिलो जनआन्दोलन २०४६ को पहिलो दिन फागुन ७ गते पाल्पाको रामपुरमा जनप्रदर्शनको नेतृत्व गरेका घिमिरेलाई प्रहरीले गोली प्रहार गरेपनि उहाँलाई नलागी सँगै रहनु भएका आफ्नै दाजु सूर्य घिमिरेलाई लागेर उहाँको मृत्यु भएको र विजय घिमिरे बाँच्न सफल भएकाले उहाँलाई जिउदो सहिद भन्ने गरिएको थियो । त्यसो त प्रतिबन्धित कालमा उहाँले मर्यो भनेर छाडिएका घट्ना धेरै छन् ।
त्यतिबेला २१ बर्षको उमेरमा आन्दोलनको नेतृत्व गर्नु भएका घिमिरले त्यसपछि पनि लगातार राजनीतिमै सक्रिय रहनु भएको थियो । उहाँ पाल्पाको क्षेत्र नं. १ बाट दुईपटक प्रतिनिधिसभाको उम्मेद्वार बन्नुभएको थियो ।
२०४३ सालमा काठमाडौको अमृत साईन्स क्याम्पसको स्ववियु सदस्य हुनुभएका घिमिरे १८ बर्षकै उमेरमा पाल्पा काँग्रेसको जिल्ला सदस्य हुनुभएको थियो ।
२०४४ सालमा पार्टीले रामपुरको बेझाडमा आयोजना गरेको पुर्नमिलन कार्यक्रममा तत्कालिन शासकहरुले आक्रमण गरेर उहाँलाई मर्यो भनेर फालेका थिए । पछि लाश ल्याउन गएका सहयोद्धाहरुले जीवितै भेटेपछि तत्काल उपचार गर्न दौडाएर उहाँले पुर्नजीवन पाउनु भएको थियो ।
त्यही बर्ष नेविसंघका तत्कालिन केन्द्रीय अध्यक्ष बालकृष्ण खाँण सहित विजयलाई केलादीस्थीत प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालय पठाएको थियो ।
नेपाली काँग्रेसको जिल्ला समिति, नेपाल बिद्यार्थी संघको जिल्ला समिति र त्रिभुवन बहुमुखी क्याम्पस समिति गरी एकैपटक तीन ओटै समितिको सचिव हुनुभएका घिमिरे ०४४ सालमा तत्कालिन शासकहरुले सर्वाधिक खोजिने पात्र हुनुहुन्थ्यो । त्यतिबेला तानसेनको बडिज्ञान टोलमा रहेको कोठामा सुरक्षाकर्मीहरुले बेलबेलामा छापा मारिरहेका हुन्थ्ये ।
एक दिन उहाँ घरमै भएका बेला सुरक्षाकर्मीहरुले घर घेरा हालेर पक्राउ गर्न लागेका थिए । कतैबाट हामफालेर भाग्ने अवस्था नरहेपछि चतुर विजयले सुरक्षाकर्मीहरुलाई झुक्याउन साडी लगाएर टाउकोसम्म छोपेर पानी लिन जाने बाहनामा गाग्री लिएर भाग्नु भएको थियो ।
२०४६ सालको जनआन्दोलनको पहिलो दिनमै गोली प्रहार गरेपनि छलिन सफल हुनु भएका घिमिरे प्रहरीको झनै खोजीमा पर्नु भएको थियो । प्रहरीले गोली प्रहार गरेपछि घटनास्थलबाट भागेर घर पुगेका विजयले सुत्केरी हुन लागेकी आफ्नी श्रीमतीलाई छोरी जन्मे “चारतारा” र छोरा जन्मे “जयनेपाल” नाम राख्न सुझाएर “तीनैलाई हेरेर चित्त बुझाउनु मेरो खोजी नगर्नु” भन्दै अनिश्चितकालका लागि सम्पर्कबिहिन हुनु भएको थियो ।
एकातर्फ दाइलाई गोली लागेको, भागदौड गर्दा आफ्नो हात भाँचिएको र अर्कोतर्फ घरमा छोरो जन्मन लागेको त्रिपक्षीय सम्बेदनशील घडीमा पनि उहाँ लोकतन्त्रका लागि सम्पर्कबिहिन हुनु परेको थियो । उहाँ भागेपछि उनकी बहिनी सकुन्तलालाई प्रहरीले जेल हालेको थियो । यसरी दर्जनौ पटक मृत्युको नजिक पुगेर नाफाको आयुमा बाँचिरहेका घिमिरेले अहिले भने क्यान्सरबाट पराजित हुनुभयो ।
विक्रम सम्बत २०२५ सालमा जन्मनु भएका घिमिरे क्यान्सरबाट पीडित भएपछि भारतको एक अस्पतालमा उपचार गराउदै आउनु भएको थियो । तर उपचार गराएर केही हप्ता अगाडि काठमाडौ फर्किनु भएका घिमिरेलाई केही दिन अगाडि फेरी स्वास्थ्यमा समस्या आएपछि काठमाडौस्थित मेडिसिटी अस्पतालमा लगिएको थियो ।
उहाँको आजै पशुपति आर्यघाटमा अपरान्ह १ बजे अन्त्यष्टि गरिने नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जानकारी दिनुभएको छ ।
अन्त्यष्टि अघि आर्यघाटमै शोक सभाको आयोजना गरिने र पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरुले समेत श्रद्धान्जली दिने कार्यक्रम रहेको उहाँले बताउनु भयो ।
उहाँको निधनप्रति काँग्रेसका नेता तथा कार्यकर्ताहरु, उहाँलाई चिन्ने अन्य पार्टीका नेता र आफन्त तथा सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् । उहाँलाई छोरा जयनेपाल घिमिरेले दागबत्ति दिनुहुने भएको छ । उहाँको आमा, श्रीमती, छोरा र छोरी हुनुहुन्छ ।


















