खुमलटार(ललितपुर),३ असोज । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर, नयाँ स्टक एक्सचेञ्ज तथा नयाँ वस्तु विनिमय बजार सञ्चालनको लागि आवेदन माग गरेको छ।
बोर्डले असोज २ गते सूचना जारी गर्दै आवेदन माग गरेको हो।
धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको रुपमा धितोपत्र व्यवसाय गर्न इच्छुक, धितोपत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले तीस दिनभित्र धितोपत्र व्यवसायी नियमावली, २०६४ मा तोकिए बमोजिम निवेदन, निवेदन दस्तुर, विवरण तथा कागजात संलग्न गरी बोर्डमा आवेदन दिनु पर्नेछ।
त्यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेको नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न इच्छुक धितापत्र सम्बन्धी ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका संस्थाले ४५ दिन भित्र आवेदन दिनु पर्नेछ।
बोर्डले वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ र सो अन्तर्गत बनेका नियम विनियम तथा अन्य प्रचलित कानूनका अधिनमा रही वस्तु विनिमय बजार सञ्चालन गर्न वस्तु विनिमय बजार सम्बन्धी ऐन, नियमावली तथा निर्देशिका बमोजिम योग्यता पुगेका इच्छुक संस्थाले ४५ दिन भित्र आवेदन दिन सूचना प्रकाशित गरेको हो।


















