काठमाडौं, ५ असोज । बृहत् नागरिक आन्दोलनले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता कायम राख्न नसकेको आरोप लगाउदै पदबाट राजिनामा दिन माग गरेको छ ।
आन्दोलनले स्वभाविक रुपमा राजिनामा नआए आउने प्रतिनिधिसभाबाट महाभियोग लगाएर उहाँँलाई हटाउन माग गरिएको छ ।
आन्दोलनले भनेको छ, ‘राजाको सिको गर्न र कथित संवैधानिक राजतन्त्रको झल्को आउने गरी जनताको मतद्वारा निर्वाचित सार्वभौम संस्थाले गरेका निर्णय उल्ट्याउन गणतान्त्रिक व्यवस्थाले राष्ट्रपतिको गरिमामय पद सिर्जना गरेको होइन ।
संवैधानिक संस्कारलाई बलियो बनाउने, संविधानको रक्षा गर्ने र सम्मानसहित दिइएको पदको गरिमा जोगाउने मुख्य दायित्व राष्ट्रपतिको भएको उल्लेख गर्दै आन्दोलनले संविधान र व्यवस्थाको मर्मविपरित राष्ट्रपतिले संवैधानिक सीमा नाघेको यो पहिलोपटक होइन भनेको छ।
नागरिक आन्दोलनले कुत्सित उद्देश्यसहित बारम्बार संविधान एवम् लोकतान्त्रिक व्यवस्थाको मूल्यमान्यता धूलिसात बनाउने भण्डारी राष्ट्र प्रमुख जस्तो गरिमायुक्त पदमा बसिराख्नु सो पदको ओज घटाउनु हो भनेको छ ।



















