काठमाडौं, ९ असोज । नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानले लामो मौनता तोड्दै आफूविरुद्ध लागेको झूटा आरोपको डटेर प्रतिवाद गर्ने बताएका छन् ।
केही समय पहिले आफ्नो फेसबुकमा स्टाटस राख्दै उनले आफू बाहिर रहेको बेलामा एक गुमनाम व्यक्तिले दिएको झूटो उजुरीका आधारमा राज्यका संवेदनशील निकायले एकतर्फी सूचना प्रवाहित गरेर आफूलाई दोषी करार गराउन खोजेको आरोप लगाउदै उनले त्यसका आफू विक्षिप्तावस्थामा पुगेको र विरामी परेर आइसोलेनमा समेत बन्न परेको गुनासो गरेका छन् ।
उनले आफू क्रमस स्वस्थ हुँदै आएकोले स्वदेशमा आएर झूटा आरोपको डटेर प्रतिवाद गर्ने जानकारी दिएका छन् ।
उनले जिम्मेवार मानिने चौथो अंगले समेत आफ्नो भनाई नराखी एकोहोरो एकतर्फी भनाई राखेर आफ्नो इज्जतमा आँच आउने गरी समाचार प्रवाहित गरेकोमा असन्तुष्टी प्रकट गरेका छन्
पढ्नुहोस् ,उनको भनाई जस्ताको तस्तै :
१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शैभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु।
म विरुद्द भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए। मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र म विरुद्द परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।
यि सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।
क्रिकेट प्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलि रहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भिर षडयन्त्रको सिकार भएको महशुस भएको छ।
मेरो अनुपस्थितीमा मलाई अपराधि सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानूनी लडाँइ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनियताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु।
म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजु भाई, मित्रहरु र क्रिकेट प्रेमिहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा म विरुद्द अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु