Prakash Adhikari September 26, 2022

काठमाडौं, १० असोज । केही दिनमा आफै नेपाल फर्कन्छु भनिरहेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई नेपाल प्रहरीले त्यो अवसर पनि नदिने भएको छ ।

नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले उनीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।

प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार कुनै पनि व्यक्तिविरुद्ध जाहरी दर्ता भइसकेको तर फैसला नभइसकेको हकमा डिफ्युजन नोटिस जारी गरिन्छ।

डिफ्युजन नोटिस जारी भइसकेपछि इन्टरपोलमा आवद्ध देशका प्रहरीले फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्नेछन्।

अभियुक्तको अवस्था र मुद्दाको अवस्था हेरेर त्यस्ता व्यक्तिलाई नेपाल पठाइदिने वा नेपाल प्रहरी नै सम्बन्धित देशमा पुगेर नेपाल ल्याउने गरिन्छ। प्रहरीको यो नयाँ कदमले सन्दीपलाई खुला रुपमा आफ्नो कुरा राख्ने, आफूले चाहेको कानून व्यवसायीसंग परामर्श गर्ने अवसरबाट बञ्चित गराउने देखिन्छ ।

यसअघि न्यायाधीश रणबहादुर बमका हत्यारालाई पनि नेपाल प्रहरीले साउदीबाट ल्याएका थियो। त्यतिबेला पनि डिफ्यजन नोटिस जारी गरिएको थियो।

तर अदालतबाट दोषी ठहर भएका र फैसला कार्यन्वयनका लागि ल्याउनु परेमा भने रेड नोटिस जारी गरिन्छ।

इन्टरपोलमा १ सय ९५ देश आवद्ध छन्। इन्टरपोलबाट कुनै पनि नोटिस जारी भएका अभियुक्तमाथि ती देशका प्रहरीले निगरानी गर्नेछन्।

 

सन्दीपविरुद्ध एक नाबालिगले भदौ २१ गते प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसको तीन दिनपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गरेको थियो।

निलम्बनमा परेसँगै क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ष्टइन्डिज पुगेका लामिछानेको सम्झौता रद्ध भएको थियो।

सम्झौता रद्ध भएसँगै उनले आफू चाँडै नेपाल फर्किने र आफूमाथि लागेको आरोपको कानुनी प्रतिवाद गर्ने प्रतिक्रिया दिएका थिए। लामो समय सम्पर्कविहीन भएका लामिछानेले आइतबार साँझ मात्रै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू अस्वस्थ रहेको र चाँडै नेपाल फर्किएर कानूनी लडाई लड्ने बताएका थिए ।

 

Share Now

Leave a comment.