Prakash Adhikari October 2, 2022

 

काठमाडौं, १६ असोज । भ्रष्टाचारका भयानक काण्डहरुमा बदनाम नेकपा एमालेका अध्यक्ष के.पी.ओलीको सरकारले पशुपतिनाथको मन्दीरमा चढाएको जलहरी निर्माणमा समेत ठूलो घोटाला गरेको पाइएको छ ।

महालेखा परीक्षकको ५९औँ प्रतिवेदन अनुसार जलहरी राख्ने क्रममा करिब १० किलो सुन हिनामिना भएको र त्यसैगरी कालिगडको ज्यालामा समेत अपारदर्शिता भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको प्रतिवेदनको पृष्ठ नं ५१६ को बूँदा नं ४२ र ४३ मा भनिएको छः


४२. सुनको जलहरी निर्माण ( पशपुति शिवलिङ्गको गर्भगृहृलाई पूर्ण रूपमा ढाक्नेगरी राख्ने सुनको जलहरी निर्माण कार्यको लागि सो वर्ष नेपाल राष्ट्र बैङ्कबाट १०३ किलो ७७३ ग्राम सुन रू. ८० करोड ११ हजारमा खरिद गरेको छ । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण तामा २ किलो ८९० ग्राम, चाँदी १ किलो २४९ ग्राम, जिङ्क १२.७५ ग्राम समेत गरी १०७ किलो ९२४.७५ग्राम सुन कायम भएको उल्लेख छ। निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति सुनको किला लगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ्ग बनाई जलहरीमा लगाएको उल्लेख छ। रिङ्ग बनाउन प्रयाग भएको सुनको मूल्य रू.७ करोड ८६ लाख ४६ हजार रहेको छ । जलहरी बनाएर बाँकी रहेको सो सुनको सम्पूर्ण परिमाण रिङ्ग बनाउने कार्यमा प्रयोग भएको पुष्टि भएको विवरण पेस गरेको छैन ।

४३. जलहरी निर्माणको ज्याला खर्चः पशपुति क्षेत्र विकास कोष आर्थिक प्रशासन (दोस्रो संशोधन २०६२) नियमावली, २०४५ नियम ३।४।१।१ अनुसार दाताहरुबाट प्राप्त अनुदान भेटी लगायत सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । सञ्चालक परिषद्को २०७७।१०।१४ को बैठकले सुनको जलहरी निर्माण कार्यको लागि आवश्यक ज्याला दातामार्फन सोझै कालिगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय भएको देखिन्छ । सुनको खरिद कार्य रू।८० करोड ११ हजारमा भएको देखिन्छ । सो जलहरी सो जलहरि निर्माण कार्यको लागि दाताबाट व्यहोरेको रकमको हिसा लेखांकन गरेको छैन । पाटन औद्योगिक क्षेत्रको एक रोलिड. मिल्समार्फत उक्त निर्माण कार्य गराएकोमा मिल्ससंग भएको संझौता र संलग्न १३ जना कालीगढलाई भुक्तानी भएको विवरण पेस गरेको छैन । सबैप्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखाङ्कन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकोले दाताबाट प्राप्त नगद एवम् जिन्सी आम्दानी खर्चको लेखाङ्कन नभएकोले जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था एकिन हुन सकेन । सो रकम एकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ । तनर्मावली अनसुार प्राप्त चन्दा अनुदान भेटीघाटी लगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।


तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालको शिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा सुनको जलहरी राख्न लगाउनु भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सम्पन्न उक्त कार्य त्यतिबेलै विवादमा आएको थियो । युनेस्कोको विश्व सम्पदा सूचीमा समेत रहेको पशुपतिनाथको मन्दीमा रहेको शिवलिड.गको गर्भगृहमा जलहरि राख्ने कार्य प्राचिन स्मारक ऐनबमोजिम नभएको भन्दै नरोत्तम वैद्य र निकिता ढुंगानाले सर्वोच्च अदालतमा रीट दायर गर्नुभएको थियो । सो रिटको सुनुवाई पछि सोही दिन निषेधाज्ञा आउने संभावना भएकोले बिहान अदालत खुल्नु पहिले नै राष्ट्रपति विद्यादेवी भण्डारीलाईे प्रमुख आतिथिको रुपमा उपस्थित गराएर जलहरि फेर्ने कार्य सम्पन्न गरिएको थियो ।

सुन कारोबारीले नै उठाए प्रश्न

एक सुन कारोबारीले नेपालका सञ्चारमाध्यमले यो प्रकरण खोतल्न नसकेको बताउदै भने, “तोलाकै लाख पर्ने सुन एक किलोमा कति आउछ भन्ने धेरैलाई थाहा छैन । राष्ट्र बैंकबाट लगेको १०३ किलो छापावाल सुन दुई हप्ता नपुग्दै जलहरिको निर्धारित आकारमा ढालेर राख्ने कार्य सम्पन्न भएको छ । एक तोला सुन गालेर निर्धारित आकारको गहना बनाउन एक हप्ता लाग्ने नेपालमा १०३ किलो सुन १२ दिनमा गालेर निर्धारित आकारको जलहरि निर्माण हुनै सक्दैन । भ्रष्टाचारीको रक्षामा कवच बनेर उभिने तात्कालिन प्रधानमन्त्री ओलीका कारिन्दाहरुले पहिले नै जलहरि बनाउन दिएर राष्ट्र बैंकबाट लगेको शुद्ध सुन ब्यापारीलाई बेचेको हुनुपर्दछ ।”

महालेखाको प्रतिवेदनले सुन कारोबारीको भनाइलाई स्पष्ट गरेको छ । महालेखाको भनाई अनुसार जलहरीमा शुद्ध सुनमात्रै छैन । त्यसमा झण्डै २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, जिङ्क १२।७५ ग्राम मिसाइएको छ । कोषले भनेकै परिणाममा अन्य धातु मिसाएको छ भन्ने एकिन गर्ने न गवाह छन् न उसका कागजातले राष्ट्रबैंकबाटै ल्याएको १०३ किलो सुन गालेर पशुपतिमा राखेको जलहरी बनाइएको भन्ने पुष्टि गर्दछन् ।

आशंका यस्ता यस्ता

जलहरी राखेको केही समय पछि १७ फागुन, २०७७ सोमबार पत्रकार तथा विश्लेषक वसन्त महर्जनले हिमाल खबरमा सुनको जलहरीमा आडम्बरी झलक शीर्षकमा लामो लेख लेख्नुभएको छ । सो लेखमा उहाँले तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतमा जस्तो धर्मको राजनीति गर्नका लागि ९ माघमा पशुपतिनाथ मन्दिर पुगेर विशेष पूजा गर्नुभएको र त्यसै दिन सुनको जलहरी राख्न ३० करोड तत्कालै दिने घोषणा गर्नुभएको थियो। प्रधानमन्त्रीको निर्देशनमा पर्यटन मन्त्रालयले ३० करोड बराबरको सुन दिएको थियो। बाँकी पशुपति विकास कोषले खर्च गरेको छ। प्रधानमन्त्रीको घोषणापछि कोषले तदारुकताका साथ १० दिनमै जलहरी निर्माण गरेको थियो। १०८ किलो सुनको जलहरी राख्न करीब एक अर्बको खर्च लाग्छ।

पशुपतिनाथ मन्दिर धार्मिक क्षेत्र मात्र नभएर हजारौं वर्ष पुरानो प्राचीन स्मारक पनि हो। यहाँ काम गर्दा प्राचीन स्मारक संरक्षण ऐन–२०१३ लाई ध्यान दिनुपर्छ। यसरी नै यो क्षेत्र सन् १९७९ देखि विश्वसम्पदा सूचीमा छ। त्यसकारण युनेस्कोको मापदण्ड विपरीत भौतिक संरचना बनाउन पाइँदैन। पुरातात्त्विक सम्पदा संरक्षण गर्ने दायित्व राज्यको हो।

नेपालको संविधान, कानूनको मर्म र भावनाविपरीत सरकारले सुनको जलहरी राखेर अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा बिथोल्न खोजेको दाबी गर्दै ११ फागुनमा बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । पशुपति क्षेत्र विकास कोषले १५ फागुनमा जलहरी लगाउने कार्यक्रम तय गरेको थियो। सर्वोच्चबाट काम रोक्न अन्तरिम आदेश आउँछ भन्ने बुझेरै कोषले १२ फागुनमै राष्ट्रपतिलाई बोलाएर जलहरी अनावरण गरेको बुझाइ रिट निवेदक नरोत्तम वैद्यको छ। त्यही दिन न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले जलहरी राख्ने सबै प्रक्रिया तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी पनि गरेको थियो। सर्वोच्चले १७ फागुनमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।

जलहरीलाई चाँदीले मोड्ने परम्परा मल्ल वा लिच्छवि कालदेखिकै हो। वि।सं। १८३८ मा राजा रणबहादुर शाहका पालमा माघ शुक्ल पञ्चमीका दिन राखिएको चाँदीको जलहरी जीर्ण भएपछि २०२४ माघ शुक्ल पञ्चमीकै दिन मर्मत गरिएको थियो। मर्मत गर्नु स्वाभाविक हो। तर, सुनको जलहरी राख्दा नेपालकै ऐन तथा युनेस्कोको मापदण्डका सन्दर्भमा प्रश्न उठ्नु स्वाभाविक हो।
शैव दर्शनअनुसार शिव निरञ्जन र निराकार हुन्। मसानमा बस्ने उनीसँग सुन, चाँदी तथा अन्य धातुको गरगहना प्रयोग सान्दर्भिक हुँदैन।

पशुपति क्षेत्र विकास कोषको संरक्षक प्रधानमन्त्री रहने व्यवस्था छ।

पशुपतिनाथ मन्दिर लगायत काठमाडौं उपत्यकाका सम्पूर्ण ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको निर्माणले तत्कालीन आर्थिक इतिहासको झल्को दिन्छ। पशुपतिनाथ मन्दिर कुनै वेला तीन तलाको थियो। तर, जीर्णोद्धार गर्दा राजा शिवसिंह मल्लकी रानी गंगारानीले वि।स। १७१२ मा दुई तल्ला मात्रै बनाउन सक्नुभयो। अहिले नेपालको आर्थिक स्थिति झनै गएगुज्रेको छ।

त्यसबाहेक पशुपतिनाथ मन्दिरको छाना र बसाहामा समेत सुनको लेप लगाउन लागत अनुमान तयार हुँदैछ। यसका लागि २० किलोसम्म सुन लाग्ने प्रारम्भिक अनुमान छ। पशुपतिका चार ढोका र वरिपरि चाँदीको लेप लगाउने योजना पनि छँदैछ।
दाताबाट पनि आएको थियो सुन

१२ फागुन २०७७ को अन्नपूर्ण दैनिकमा पत्रकार गोपीकृष्ण ढुंगाना लेख्नुहुन्छ, “पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा बुधबार एक सय आठ किलो सुनको जलहरी राखिएको हो। पशुपति क्षेत्र विकास कोषको पहलमा राखिएको उक्त जलहरी ९सुवर्ण पीठिका० अबदेखि पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनले पनि देख्न पाउनेछन्।”

राष्ट्रपति भण्डारीले जलहरी राखेपछि जलहरीको शिलालेख अनावरण गर्नुभयो । त्यसपछि सुनको जलहरीको प्राणप्रतिष्ठा गरिएको छ। महाकुम्भ रुद्राभिषेक, सवा लाख दीप प्रज्ज्वलन र हवनसमेत भएको छ।

जलहरी राख्ने कामको मूलकर्ताका रुपमा प्रधानमन्त्री केपी ओली, कर्ता र साक्षीको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री भानुभक्त ढकाल, मूलभट्ट गणेश भट्ट, मन्त्रालयका सचिव यादव कोइराला, कोषका सदस्य सचिव डा। प्रदीप ढकाल, कोषाध्यक्ष एवं जलहरी निर्माण समितिका संयोजक डा। मिलनकुमार थापा र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन्।

कोषाध्यक्ष डा। थापाका अनुसार जलहरी निर्माणमा करिब ८५ करोड रुपैयाँ खर्च भएको छ। जसमा माघ १२ गते पशुपतिनाथ मन्दिर आएका बेला प्रधानमन्त्री ओलीले ३० करोड रुपैयाँ सरकारका तर्फबाट दिने घोषणा गर्नुभएको थियो ।

एकजना दाताले २ करोड रुपैयाँ, एक जना दाताले एक किलो सुन, भक्तजनबाट ४० लाख रुपैयाँ संकलन भएको थियो भने बाँकी रकम कोषले जुटाएको हो।

अख्तियारको अनुसन्धान तुहियो कि छ ?

राष्ट्रिय दैनिक कान्तिपुरले पनि पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको समाचार प्रकाशित गरेको थियो ।

समाचारमा जनाइए अनुसार वर्तमान सदस्यसचिव मिलनकुमार थापा र निवर्तमान सदस्यसचिव प्रदीप ढकालसहित जलहरी निर्माणमा संलग्न कोषका अधिकारीसँग अख्तियारले बयान लिएको हो ।
ढकाल चारवर्षे कार्यकाल सकिएपछि २०७८ साउन ३१ मा कोषबाट बाहिरिनुभयो र थापा भदौ १८ मा सदस्यसचिव नियुक्त हुनुभयो ।

अख्तियार उच्च स्रोतका अनुसार सोमबार सदस्यसचिव थापासँग जलहरी निर्माणमा भएको अनियमितता सम्बन्धमा करिब पाँच घण्टा बयान लिइएको छ । ‘जलहरी निर्माणमा भ्रष्टाचार भएको होरहोइन ? सुनको जलहरी बनाउँदा कति खर्च लाग्यो ? बाँकी रहेको सुन कहाँ छ ? लगायतका प्रश्नसहित आयोगले सदस्यसचिव थापासँग बयान लिएको हो । मन्दिरमा सुनको जलहरी राख्दा थापा कोषाध्यक्ष हुनुहुन्थ्यो।

आयोग स्रोतका अनुसार २०७७ माघमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको दर्शन गरी मन्दिरमा सुनको जलहरी राख्न निर्देशन दिएपछि कोषले १ सय ८ केजी सुनको जलहरी राख्ने प्रक्रिया अघि बढायो । त्यसको सबै तजबिजी वर्तमान सदस्यसचिव थापाले मिलाउनुभएको थियो।

जलहरी बनाउनकै लागि कोषले राष्ट्र बैंकबाट करिब १ सय ३ केजी सुन खरिद गर्‍यो । २४ क्यारेटको सुन पगालेर २२ क्यारेटको बनाउन त्यसमा ३ प्रतिशत तामा र १ प्रतिशत चाँदी राखिएको अभिलेख छ । त्योसहित २२ क्यारेटको १ सय ८ केजी सुनको जलहरी तयार पारियो तर कोषको रेकर्डमा भने जलहरी बनाएको सुनको परिमाण ९६ केजी ८ सय २२ ग्राम भएको मुचुल्का उठाइएको छ ।

बाँकी रहेको करिब ११ केजी सुनको हिसाब गोलमाल भएपछि अख्तियारमा उजुरी परेको थियो । त्यसपछि अघि बढेको प्रारम्भिक अनुसन्धानमा जलहरी निर्माणमा अनियमितता भेटिएपछि अख्तियारले विस्तृत अनुसन्धान थालेको थियो ।
२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ पुगी ‘संकल्प पूजा’ गर्नुभएको थियो । संकल्प पूजापछि कोषका पदाधिकारीसँग पशुपति क्षेत्रको अवस्थाबारे जानकारी लिएर ओलीले मन्दिरमा सरकारी खर्चमा करिब १ अर्ब रुपैयाँ बराबरको सुनको जलहरी राख्ने घोषणा गर्नुभयो। त्यही दिन ओलीले कोषलाई ३० करोड रुपैयाँ तत्काल उपलब्ध गराउने बचन दिनुभयो।

त्यसपछि कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले जलहरी राख्नेसम्बन्धी प्रक्रिया थाल्न त्यसबेलाका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा समिति गठन गरी जलहरी निर्माण, सुनरनगद खर्च, कालिगड परिचालनलगायत आर्थिक खटनपटनको जिम्मेवारी कोषका सीमित पदाधिकारी तथा सदस्यलाई दिनुभयो ।

फागुन ११ को राति ८ बजेतिरमा बाँकी सदस्यहरुलाई जलहरी निर्माणको काम सकिएको र छिट्टै कोषमा बैठक राखेर उद्घाटन मिति तोकिने भनेर सूचना दिइएकोमा निर्माण कार्यमा संलग्न नभएका सदस्यहरू घर गएपछि सीमित व्यक्ति बसेर राष्ट्रपति भण्डारीबाट फागुन १२ मा जलहरी उद्घाटन गर्ने निर्णय भएको थियो ।

जलहरी निर्माण कोषका केही अधिकारीको मात्रै मिलेमतोमा अघि बढाइएको भन्दै आर्थिक अनियमितताको आशंकामा कोषका सदस्यहरू देवीप्रसाद बराल, भगवतीप्रसाद देव, आशा पाण्डे, विश्वकरण जैन र उद्धव बरालले सदस्यसचिव र कोषाध्यक्षलाई विवरण उपलब्ध गराउन माग गर्दै निवेदन दिएका थिए तर, कोषले जलहरी राख्न करिब ८० करोड रुपैयाँ खर्च भएको हिसाब देखाएको छ ।

जलहरी राख्ने भएपछि विभिन्न उद्योगीरव्यापारीले सुन र कालीगढका लागि रकम दान दिएको बताइए पनि त्यसको समेत हिसाब गोलमाल देखिएको छ ।

थापाले अख्तियारमा भने जलहरी निर्माण सेनाको सुरक्षामा गरिएको भन्दै पारदर्शी भएको जिकिर गरेका छन् । तर, अख्तियारले थापालाई समेत अनुसन्धानको दायरामा राखेको छ । जलहरीको विषयमा अख्तियारले पशुपतिका मूल पुजारी गणेश भट्ट र सहायक पुजारी राम भट्टसँग बयान लिइसकेको छ । बयानमा दुई पुजारीले जलहरी मात्रै राखिएको र थप सुन नचढाएको बयान दिएका छन् ।

जलहरी च्यातियो ?
नेपाल समाचारपत्रमा पत्रकार रविप्रसाद खनालले पशुपतिनाथको गर्भगृहमा हालिएको जलहरी ४ महिनामा नै च्यातिएपछि पशुपति विकास कोषले पुनः मर्मत गर्न खोजेपछि अख्तियारले पत्र काटेको समाचार लेख्नुभएको थियो । समाचार पत्रका अनुसार प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको ३० करोड र कोषले उपलब्ध गराएको ५० करोड रुपियाँमा १ सय ८ किलो सुन खरिद गरेर पशुपतिनाथ मन्दिरमा जलहरी राखिएको थियो । जलहरी बनाउँदा अनियमितता भएको उजुरी परेपछि अख्तियारले पशुपति विकास कोषको नाममा पत्र काटेर उक्त विवरण माग गरेको र ४ महिनाअघि राखिएको जलहरी अहिले कसरी च्यातियो भन्ने प्रश्न गरेपछि कोष अफ्ठेरोमा परेको छ ।

अख्तियारले कुनै पनि काम अगाडि नबढाउन र सुन खरिद प्रक्रियाका बारेमा जानकारी गराउन आग्रह गरेपछि काम रोकिएको छ ।

पशुपति मन्दिरमा यसअघि राखिएको चाँदीको जलहरीमा कुनै समस्या नआएको तर ४ महिनाअघि सुन खरिद गरेर बनाइएको जलहरी च्यातिएपछि कोषका पदाधिकारीको मिलेमतोमा सुन हिनामिना गरेको भन्दै कोषमा कार्यरत कर्मचारीले नै अख्तियारमा उजुरी गरेपछि आयोगले सुन खरिद प्रक्रियाका बारेमा अध्ययन शुरु गरेको हो ।

कोषका निवर्तमान सदस्य सचिव ढकालले सुन खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गर्दै प्रधानमन्त्री कार्यालय र कोषबाट उपलब्ध गएको ८० करोड रुपियाँ नेपाल राष्ट्र बैंकमा जम्मा गरेर बैंकले जी टु जी प्रक्रियाबाट सुन खरिद गरेकाले अनियमिता हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले सुनको जलहरी च्यातिएको नभई किला ठोक्न मात्र बाँकी रहेको जिकिर गर्नुभयो ।

कान्तिपुर टीभी भन्छ, मुआब्जाको रकम जलहरीमा खर्च

कान्तिपुर टिभीबाट प्रशारित समाचारमा कोषले सार्वजनिक खरिद ऐनलाई वेवास्ता गर्दै कोषले आन्तरिक रुपमै उपेन्द्र बाराहीलाई पिठिका अर्थात जलहरी निर्माणको जिम्मा लगाएको उल्लेख गरेको छ।

उसले शिवलिङ्गको आधारक्षेत्रमा चाँदीको जलहरीको बाहिरपट्टी सुनको जलहरी फागुन ११ गते राति जडान गरिएको र भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमापुजा गरेपछि सुनको जलहरी सार्वजनिक गरिएको उजागर गरेको छ । माघ १२ गते प्रधानमन्त्रीले निर्देशन दिएपछि एक महिनाको अवधिमा कोष, सरकार र केहि भक्तजनको गरी ८० करोडको लागतमा जलहरी निर्माण, जडान र फर्छ्यौट समेत भयो । तर १ सय ८ किलोको सुनको जलहरी निर्माण गर्ने भनिएपनि ९६ किलो ८ सय २२ ग्राम मात्रै सुन लागेको तथ्य कोष आफैले पत्रकार सम्मेलन मार्फत जानकारी गरायो । बाँकी सुन कहाँ गयो त ?

कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकालले जलहरी राख्दाराख्दै अदालतको आदेश आएकाले बाँकी रहेको सुनका रिङ राख्ने काम रोकिएको बताउनुभएको छ ।

त्यसो त सुन खरिद गर्दा कोषले हालेको ५० करोड रकम कोषको आफ्नै आम्दानीबाट नभई विद्युतीय सबदाह गृहको बागमती पारी रहेको बस्ती खाली गर्न मुआब्जाका लागि सरकारबाट प्राप्त १ अर्ब ६९ करोड रकम मध्येको भएको समेत खुलेको छ । जसका बारेमा महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदनले समेत कोषले अनियमितता गरेको ठहर गरेको छ ।

मन्दिरका चार जना मुख्य पूजारीले मात्र छोएर राख्न मिल्ने जलहरी सर्वसाधारणले सजिलै देख्दैनन्। जुन ठाउँमा उभिएर सर्वसाधारणले पशुपति दर्शन गर्छन्, त्यहाँबाट जलहरी देखिँदैन।

पशुपतिमा पश्चिमी ढोका मात्र भक्तजनका लागि खुला हुन्छ। तीर्थारूले ढोकामै गएर आफैंले फूलपाती चढाउन पाउँदैनन्। त्यहाँ खटिएका कर्मचारीले दुई मिटर वरैबाट फूलपाती मन्दिरको ढोकामा छुवाइदिन्छन्, जल चढाइदिन्छन्।
भक्तजनको भीडभाडबीच कतिले त शिवलिंगको राम्ररी दर्शन गर्न पनि पाएका हुँदैनन्, यस्तोमा जलहरी देख्नु टाढाको कुरा। कसैले घाँटी तन्काएर हेर्यो भने मात्र मुश्किलले जलहरी देखिन्छ।

जलधाराबाट खसेको पानी वा दूध शिवलिंगलाइ नुहाएपछि बगेर जम्मा जाने तथा शिवलिंगको गर्भगृहलाई ढाक्ने गरी राखिने पातालाई जलहरि भनिन्छ।

जलहरीबाट बगेको तरल पदार्थ बह्मनाल हुँदै बाग्मतीमा गएर मिसिन्छ। भक्तजनलाई अभिषेक गरिने जल जलहरीबाटै लिइन्छ ।

पशुपति शिवलिंगको तल्लो भागमा बासुकी नाग छ। नागमाथि करिब पाँच इन्च उचाइमा शिवलिंगको गर्भगृह छ। पाँच मिटर गोलाइ रहेको यो गर्भगृहलाई सुनको पातोले मोरिएको छ।

पूजारीहरूका अनुसार शिवलिंगमा निरन्तर चढाइने दूध, जल, मह पोखिँदै जाने ठाउँमा राखिने तामा, चाँदी वा सुनको पातो नै जलहरी हो।

प्राचीन स्मारक संरक्षण ऐन विपरित

रिट निवेदक वैद्यका अनुसार सुनको जलहरी हाल्ने कार्य प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ।

तर प्राचीन स्मारक संरक्षण ऐनका अनुसार ुस्मारकहरूको संरक्षण, मर्मत तथा जीर्णोद्धार पुरातत्व विभागको निरीक्षण, प्राविधिक सेवा तथा निर्देशनमा गुठी संस्थानले गर्नेछु भनिएको छ।

ुकुनै प्राचीन स्मारकलाई नष्ट गरेमा, भत्काएमा, हटाएमा, परिवर्तन गरेमा, विरूप पारेमा वा चोरी गरेमा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद सजाय हुनसक्नेु उक्त ऐनमा भनिएको छ।

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमका अनुसार पशुपतिनाथमा हाल रहेको चाँदीको जलहरी राजा महेन्द्रको उपस्थितिमा २०२५ सालमा राखिएको हो।

त्यसअघि राजा गीर्वाणयुद्धको पालामा तामाको जलहरी प्रतिस्थापित गरिएको अभिलेख रहेको छ ।

सुन कहाँ पगालियो भन्ने विषयमा पनि विवाद छ । कतिपय सञ्चारमाध्यमले सुन पगाल्न पाटन औद्योगिक क्षेत्रको कुनै रोलिड. मिल्सलाई दिएको उल्लेख गरेका छन भने बीबीसीले राष्ट्र ब्याङ्कबाट सुन किनेर पशुपतिनाथ मन्दिर परिसरको रुद्रागारेश्वरमा नेपाली सेनाको सुरक्षाबीच कालिगढहरू जलहरी निर्माणमा जुटेको लेखेको थियो।

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*