चन्द्रागिरि(काठमाडौं), ७ चैत्र । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले चन्द्रागिरिको स्थलगत अवलोकन गरेका छन ।
केवलकारबाट चन्द्रागिरि पुगेका मन्त्री अधिकारीले चन्द्रागिरि महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको यो क्षेत्रको विकास र संरक्षणका लागि राज्यले पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताए ।
सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रूपमा मनाउने घोषणा गरेको छ ।
नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो । यो लक्ष्यलाई भेट्टाउन आवश्यक पर्यटकीय पूर्वाधार निर्माणलाई राज्यले उच्च प्राथमिकता दिएको छ ।
मन्त्री अधिकारीले पर्यटन विकासको लागि समयबद्ध योजना आवश्यक भएको बताए ।
मन्त्री रवीन्द्र अधिकारीले आफ्नो कार्यभार सम्हाल्ने क्रममा उल्लिखित प्रतिबद्धतालाई दोहो¥याउँदै पर्यटकीय पूर्वाधार विस्तार कार्यलाई तीव्रता दिने विचार व्यक्त गरेका थिए ।
पर्यटक बढाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’ बनेको छ । चन्द्रागिरि हिल्सलाई सरकारले उत्कृष्ट पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ ।
नेपाल पर्यटन वर्ष २०२० लाई सफल तुल्याउन यस्ता ‘प्रोडक्ट’को महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री अधिकारीले यसमा सञ्चारमाध्यमले राजनीतिकभन्दा आर्धिक गतिविधिलाई विशेष प्राथमिकता दिनुपर्ने खाँचो औँल्याउनुभयो । वार्षिक करिब सात लाख पर्यटक पुग्ने धार्मिक महत्वको चन्द्रागिरि पहाड काठमाडौँ केन्द्रित पर्यटकका लागि उत्तम गन्तव्य पनि हो ।
समुन्द्री सतहबाट झण्डै दुई हजार ५५१ मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडा करिब १२ मिनेट केबुलकार यात्रामा पुग्न सकिन्छ । करिब दुई वर्षदेखि सञ्चालन भइरहेको चन्द्रागिरि केवलकार महत्वपूर्ण आकर्षण बनेको छ । प्राकृतिक मनोरम दृश्य तथा उचाइको मज्जा लिन ठूलो संख्यामा पर्यटक जाने गरेका छन् ।
पर्यटन क्षेत्रमा राम्रो प्रोडक्ट बनेको र करिब ३० प्रतिशत विभिन्न तवरबाट राज्यले कर प्राप्त गरिरहेको भन्दै मन्त्री अधिकारीले यस्ता पर्यटकीय प्रोडक्टलाई सातवटै प्रदेशका सम्भावना बोकेका क्षेत्रमा विस्तार गर्न आग्रह गरे ।
“राज्यले पर्यटकीय पूर्वाधार विकास गरिदिने हो पर्यटकीय उत्पादन विस्तार र विविधीकरण गर्ने निजी क्षेत्र नै हो त्यसैले पूर्वाधार निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्न सरकारको पूर्ण साथ रहनेछ,” उनले भने ।
मन्त्री अधिकारीले चन्द्रागिरि केवलकार जस्ता नयाँ पर्यटकीय गन्तव्यको संरक्षण गरी अभिभावकीय भूमिका निर्वाह गर्न सरकार तत्पर रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गरे ।
कूल ग्रार्हस्थ्य उत्पादनमा २५ प्रतिशत योगदान पु¥याउने लक्ष्यका साथ पर्यटकीय गन्तव्यको प्रवद्र्धन विकास गरिनुपर्नेमा मन्त्री अधिकारीको जोड छ ।
चन्द्रागिरि हिल्सका लिमिटेडका अध्यक्ष चन्द्र ढकालले पर्यटकको गन्तब्य बनेको चन्द्रागिरि राज्यको उच्च प्राथमिकतामा पर्नु सकारात्मक हो भन्दै यस्ता पर्यटकीय प्रोडक्टलाई प्रदेश स्तरमा पनि विस्तार गरिने बताए । पर्यटनलाई प्राथमिकता दिएर चन्द्रागिरिको पूर्वाधार अवलोकन गरिनु पर्यटन विकासमा सरकारको उच्च प्राथमिकता रहेको उदाहरण पेश भएको र यसले समग्र पर्यटन क्षेत्रमा उत्साह जगाएको उनले बताए ।
सन् २०१७ मा छ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकले चन्द्रागिरिको भ्रमण गरेका थिए । सन् २०१६ मा पाँच लाख ५० हजारको हाराहारीमा पर्यटक गएका थिए । दैनिक एक हजार ५०० देखि दुई हजारसम्म चन्द्रागिरि पुग्ने गरेका छन् । सार्वजनिक बिदा र चाडबाडको बेला धेरै सर्वसाधारण जाने गर्छन् । झण्डै पाँच अर्ब लगानीमा पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको यस आयोजनाअन्तर्गत अबको तीन महिनामा अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण भइसक्ने कम्पनीले जनाएको छ ।
स्वस्थानी कथामा सतिदेवीको भाल पतन भएको र राष्ट्र एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले पहिलो पटक काठमाडौँ देखेको जस्ता पौराणिक धार्मिक तथ्य चन्द्रगिरि पहाडले बोकेको छ । ती विशेषताहरू समेटेको पहाड साँच्चै यतिवेला एउटा पर्यटकीय गन्तव्य बनेको छ ।
चन्द्रागिरि पहाडको उचाइमा रहेको भोलेश्वर महादेवको दर्शन गर्ने पाउने गरी बनाइएका पार्क, सुविधा सम्पन्न होटल, रेस्टुरेन्टहरूले धेरै विदेशी पाहुनालाई पर्खिरहेका जस्ता देखिन्छन । त्यति मात्रै नभएर सभा, सम्मेलन र बैठकसमेत गर्न मिल्ने गरी चन्दागिरि हिल्स प्रालिले त्यहाँ संरचना तयार गरेको छ ।