बीरेन्द्रनगर (सुर्खेत), २५ असोज । यही असोज १९ गतेदेखि सुरू भएको लगातार वर्षाले आएको पहिरो र बाढीमा परेर कर्णाली प्रदेशभर ३३ जनाको मृत्यु भएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी पहिरोमा परेर २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका छन्। वर्षाका कारण घरमा क्षति पुगेर ४ सय ८० जना विस्थापित भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जुम्लामा मात्र विपदबाट ९ जनाको मृत्यु भएको छ। यस्तै सुर्खेतमा १, जाजरकोटमा ३, सल्यानमा २, कालीकोटमा ४, मुगुमा ८, हुम्लामा ४ र डोल्पामा २ जनाको मृत्यु भएको छ।
विपद्मा परि बेपत्ता भएकामध्ये दैलेखमा १, जुम्लामा २, कालीकोटमा १९ जना छन्।
जाजरकोटमा १, रूकुम पश्चिममा १, जुम्लामा २, कालीकोटमा ७, मुगुमा ५, हुम्लामा ५ जना विपद्बाट घाईते भएको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा ८ जना, दैलेखमा १०३ जना, जाजरकोटमा २, रुकुम पश्चिममा २, सल्यानमा ९, जुम्लामा ८६, कालीकोटमा ४८, मुगुमा १ सय ७८, हुम्लामा ४० र डोल्पामा ४ जना बर्षाका कारण विस्थापित भएका छन्।
वर्षाले प्रदेशभरका ६० वटा घरमा पानी पसेर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने २ हजार ८ सय ८९ परिवार निरन्तरको वर्षाले प्रभावित भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण कर्णाली राजमार्ग र त्यसका सहायक मार्गहरु अवरूद्ध भएपछि आवतजावतमा कठिनाई भएको छ। प्रभावित जिल्लाहरुमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा खटिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घर क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया सुरु भएको छ भने घाईतेहरुको उद्दारका लागि निरन्तर हेलिकप्टर परिचालन गरिएको छ ।(स्रोतःसेतोपाटी)


















