Prakash Adhikari October 18, 2022

काठमाडौं, १ कार्तिक । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संयुक्त अपील गर्दै आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धनका दलहरुलाई मतदान गर्न मतदातालाई अपिल गर्नुभएको हो।

गठबन्धनको तर्फबाट मंगलबार सार्वजनिक साझा प्रतिवद्धतामा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले मात्र हस्ताक्षर गर्नुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भने अपिलमा हस्ताक्षर गर्नुभएको छैन।

संविधानको मर्म विपरीत गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तत्कालीन सरकार प्रमुख ९केपी शर्मा ओली०को स्वेच्छाचारी कदमलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु गठबन्धनको उद्देश्य भएको नेताहरुले बताउनुभएको छ । शीर्ष नेताहरुले आसन्न आम निर्वाचनलाई भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

साथै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवतै रहेको भन्दै गठबन्धनका नेताहरुले संविधान माथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताउनुभएको छ ।

कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि एवम् बजारीकरण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धन, द्रुत औद्योगीकरण, व्यापार घाटाको न्युनीकरण गर्न आयात प्रतिस्थापन एवम् निर्यात प्रवद्र्धन र जलविद्युतजस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको भन्दै साझा प्रतिवद्धता पत्रमा भनिएको छ, ‘यसका लागि पर्याप्त निजी, सहकारी एवम् सार्वजनिक लगानी बृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिनेछ ।’

यातायात पूर्वाधार, सूचना प्रविधि र ऊर्जा विकास तथा अन्य आर्थिक गतिविधिबाट मुलुकलाई लाभ दिलाउनु तत्कालका प्राथमिकता हुने अपिलमा उल्लेख छ । नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई देशको आवश्यकता र राष्ट्रिय स्वार्थ केन्द्रित लक्ष्यका साथ सञ्चालन गर्ने भन्दै अपिलमा भनिएको छ, ‘द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौतालाई नेपालको राष्ट्रिय स्वार्थ अनुरुप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने छ ।’

आआफ्ना पार्टीगत प्रतिवद्धता विस्तारित रुप पार्टी घोषणापत्रमा ल्याउने कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले बताउनुभएको छ ।

Share Now

Leave a comment.