Prakash Adhikari October 25, 2022

काठमाडौँ, ८ कात्तिक । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ३ सय ५ मेगावाट पुगेको छ ।

गत वर्ष लक्ष्मीपूजाको दिन विद्युतको पिक डिमान्ड १ हजार २ सय ७० मेगावाट रहेकोमा यस वर्ष ३५ मेगावाट बढी १ हजार ३ सय ५ मेगावाट पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन सोमबार साँझ ६ः१० बजे पिक डिमान्ड १ हजार ३ सय ५ मेगावाट रेकर्ड गरेको हो । प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहबाट ४ सय ३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४ सय ८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूबाट ७ सय ६७.५ मेगावाट विद्युत् उत्पादन गरी आपूर्ति गरिएको छ ।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत् आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमान्ड धान्नको लागि कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन ।

कुलेखानी क्यासकेडमा पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३ सय ८० मेगावाट विद्युत् भारत निर्यात गरिएको र २ सय मेगावाट विद्युत् खपत गर्न नसकेर खेर गएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनु भयो ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षमायाको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको प्राधिकरणले जनाएको छ ।

‘बिगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाको दिनको विद्युत् खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरु बेला नै पिक डिमान्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

‘तिहारमा उद्योग कलकारखानाहरु र कार्यालयहरू सबै बन्द छन् फेरी तराइमा गर्मी छैन र काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भई नसकेकोले अहिले विद्युत् माग नआउने समय हो ।’

उहाँले आन्तरिक रूपमा विद्युत् खपत बढाउनु ठुलो चुनौती रहेको बताउनुभयो ।

प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी १ हजार ७ सय ४७. ५३ मेगावाट रेकर्ड गरेको थियो । देशभित्रको विद्युत् खपत र भारततर्फको निर्यातसहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमान्ड १ हजार ६ सय ८५ मेगावाट रेकर्ड गरिएको छ ।
यस वर्ष सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३ सय ४२ मेगावाट छ । गत वर्ष ३२०.६४ मेगावाट थियो ।

प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो । प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

;
Share Now

Leave a comment.