पुल्चोक(ललितपुर),८ चैत्र । उच्च अदालत पाटनले चैत दोस्रो साता तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ ।
भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजुले दिएको रिटमा उच्च अदालत पाटनले बिहिबार फैसला गर्दै उक्त आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले रिटमा बहस गर्दै कारण देखाउ आदेश र निर्वाचन नगराउन अन्तरीम आदेश दिएको हो ।
सुखजुले एन्फालाई बिपक्षी बनाई निर्वाचन रोक्न माग गर्दै उच्च अदालतमा रिट हालेका थिए । नयाँ नेतृत्वको लागि एन्फाको निर्वाचन आगामी चैत १४ गते हुने तय भएको थियो । एन्फाको नयाँ अध्यक्षको लागि मणि कुँवर र कर्माछिरीङ शेर्पाले उम्मेदवारी दिएका छन् ।