डडेल्धुरा, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक रहेको बताउनुभयो ।
“समावेशी राजनीति, समावेशी संविधान बचाउन पनि गठबन्धनको सरकार बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र, समावेशी संविधान बचाउनुपर्ने आवश्यकता छ ।”
प्रधानमन्त्री देउवाले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याएरै छाड्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुन्छ भन्दै प्रश्न गर्नुभयो ।
“केपी ओलीजी दार्चुला गएर लिम्पियाधुरा फिर्ता आउँछ रु” प्रधानमन्त्री देउवाले भन्नुभयो, “कूटनीति र वार्ताका माध्यमद्वारा भूमि फिर्ता ल्याउने हो, त्यसका लागि भारतसित कुरा गर्ने हो ।” उहाँले प्रतिपक्षी दलको नेताले बोल्दैमा केही नहुने धारणा राख्नुभयो।
प्रधानमन्त्री देउवाले विगतमा राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद् विघटन गरेपछि त्यसका विरुद्धमा गठबन्धन बनेको बताउनुभयो ।
त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “अति नै भएपछि हामी अदालत गएका हौँ ।”
उहाँले डडेल्धुरामा मेडिकल कलेज स्थापना र विमानस्थल बनाउने बताउनुभयो । “गर्भवतीले उपचार नपाएर ज्यान गुमाउनु पर्दैन, मेडिकल पढाइ पनि यही हुन्छ”, देउवाले भन्नुभयो, “विमानस्थलका विषयमा सम्भाव्यता अध्ययन गरिने र जहाज ल्याएरै छोडिनेछ ।”
डडेल्धुराको धेरै विकास भइसकेको बताउँदै उनले बाँकी काम पनि आफूले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै उहाँले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गर्नुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथी मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । ”


















