सिलिगढी(डोटी), २२ कार्तिक ।डोटीमा गए राति गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर रातको २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । डोटीमा मङ्गलवार साँझ ४.१ म्याग्निच्युडका भूकम्प को थियो।
https://twitter.com/Chiiranjibi/status/1590109875958603776
त्यसपछि पनि पटक–पटक झट्का महसुस भएको थियो । भूकम्पको झट्का बझाङ, कैलाली, कञ्चनपुर, बाँके, रुकुम पश्चिममा समेत महसुस भएको थियो ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि लगायत उद्धारमा खटिएका छन् । घरका भग्नावशेष पन्छाउने र प्रभावितहरुको व्यवस्थापन गर्ने काममा नेपाली सेनाको भैरवनाथ गण डोटी लगायतको टोली खटिएको छ
“घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी गरिरहेका छौँ “, श्रेष्ठले बताउनुभयो ।
पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका छन्।
डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भएपनि मानवीय क्षतिको भने विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ।
भूकम्पको धक्का कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पनि महसुस गरिएको बताइएको छ।


















