Prakash Adhikari November 14, 2022

 

सानेपा(ललितपुर), २८ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा.प्रकाश शरण महतले मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनको बहुमत आउने र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्नुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा डा.महतले भन्नुभयो, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ ।’

मुलुकलाई स्थिरतासहित समृद्धिको दिशामा अघि बढाउन सत्तारुढ गठबन्धनको विकल्प नभएको उहाँको दावी छ।

कांग्रेस प्रवक्ता एवम् प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९ केन्द्रीय प्रचार प्रसार समितिका संयोजक डा.महतले निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन पार्टी नेता कार्यकर्ताहरूलाई आह्वान समेत गर्नुभएको छ ।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रुख चिह्न र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी पंक्ति लाग्न आह्वान गरेका हुन् ।

‘हामी समानुपातिकतर्फको मत आफ्नो पार्टीलाई माग्छौ । १६५ वटै प्रतिनिधिसभा सदस्य र ३३० प्रदेशसभामा हामीले रुख चिह्नमा मत माग्छौ, यसमा कहाँ कतै दुविधा हुनुहुँदैन’, प्रवक्ता महतले भन्नुभयो, ‘प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएका ठाउँमा पनि समानुपातिकतर्फ रुख चिह्नमा मतदान गर्न पार्टीका सबै साथीहरूलाई अनुरोध गर्दछु ।’

उनले प्रतिनिधिसभा र प्रदेशसभाका ६१ स्थानमा कांग्रेसका उम्मेदवार नभएको भन्दै प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नभएपनि जुन दललाई समर्थन गरिएको हो त्यो उम्मेदवारलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

‘किनभने गठबन्धन भनेकै सहकार्य हो । दिने पनि हो । लिने पनि हो । पारस्परिक सहयोगबाट परिणाम आउने हो । त्यो परिणाम आउँदा हाम्रो सरकार बन्ने हो’, डा.महतले भन्नुभयो ।

Share Now

Leave a comment.