Prakash Adhikari November 15, 2022

 

बर्दघाट(नवलपरासी), २९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बचाउनका लागि अहिलेको पाँचदलीय गठबन्धन अपरिहार्य रहेको बताउनुभएको छ।

पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाको चौपत्तामा चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो।
अहिलेको समावेशीसहितको संविधानका कारण नै महिलाको ३३ प्रतिशत आरक्षण लागू भएको बताउनुभएको हो।

‘‘अहिलेको संविधानमा नै महिला समावेशीलाई तय गरेका कारण नै देशको प्रमुख पद राष्ट्रपतिमा महिला पुग्नुभएको छ। स्थानीय सरकारको गठनमा पनि पालिकाको प्रमुख एवं उपप्रमुखमध्ये एउटा पदमा महिला हुनुपर्ने व्यवस्था गरिएको छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘संविधानको रक्षाका लागि अहिले पाँचदलीय गठबन्धन बनेको छ। यसलाई जिताउन अपिल गर्दछु।’’

प्रधानमन्त्री देउवाले यो संविधानले दलित, मधेशी, पिछडा वर्ग एवं उत्पीडित वर्गको राज्यमा उपस्थिति निश्चित गरेको प्रष्ट पार्नुभयो। उहाँले अहिलेको समावेशी संविधानको रक्षाका लागि बनेको गठबन्धन निर्वाचनपछिसम्म रहने उल्लेख गर्नुभएको छ।

नेपाली कांग्रेसका क्षेत्र नम्बर १ ९ख०का सभापति मुकुल आचार्यको अध्यक्षतामा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन निर्वाचन पछिसम्म पनि रहने प्रष्ट पार्नुभएको हो।

नवलपरासी क्षेत्र नम्बर १ बाट गठबन्धनको साझा उमेदवार अर्बपति विनोद चौधरी हुनुहुन्छ। उहाँको निर्वाचन क्षेत्रमा गरिएको चुनावी सभामा प्रधानमन्त्री देउवासँगै पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले समेत सम्बोधन गर्नुभएको छ।

चुनावी सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले गठबन्धनभित्र केही समस्या देखिएको भए पनि अहिले पाँचदलीय संयुक्त गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभएको छ।

अध्यक्ष दाहालले कांग्रेस माओवादीसहितको पाँचदलीय गठबन्धलाई पाँच पाण्डव र नेकपा ९एमाले० नेतृत्वको शठबन्धनलाई कौरवको गठबन्धनको संज्ञा दिनुभएको छ। उहाँले दुबै गठबन्धनको लडाइँको अन्तिम दिन मङ्सिर ४ गते रहेको बताउनुभयो।

माओवादी अध्यक्ष दाहालले मङ्सिर ४ गतेको दिन निर्वाचनको दिनभन्दा पनि नेपाली राजनीतिको एउटा ‘टर्निङ प्वाइन्ट’ रहेको आम मतदातालाई गठबन्धनलाई नै मत हाल्न आह्वान गर्नुभएको छ।

पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरीको विरुद्धमा जनता प्रगतिशील पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री हृदयेश त्रिपाठी मैदानमा हुनुहुन्छ।

गठबन्धनका उम्मेदवार चौधरीले यस क्षेत्रमा आफूले जितेको खण्डमा विभिन्न प्रकारका उद्योग खेल्ने र स्थानीयवासीलाई स्थानीयस्तरमा नै रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको छ।(गोरखापत्रबाट)

Share Now

Leave a comment.