काठमाडौं, ४ मंसिर । प्रतिनिधिसभाका २ सय ७५ र प्रदेशसभाका ५ सय ५० सदस्य चयनका लागि आज मतदान हुदैछ । देशभर १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।
शनिबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिनुभएको छ।
‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्नु हुन हार्दिक अपिल गर्दछु’ उहाँले भन्नुभएकोे छ ।
मतदानका आफ्नो घरसम्म पुग्न र मतदान गरेर काममा फर्किन सर्वसाधारणलाई सहज होस् भनेर आयोगले शुक्रबारदेखि मतदानको भोलिपल्ट सोमबारसम्म सार्वजनिक विदा दिएको छ ।
निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कतैबाट प्रश्न उठाउन सक्ने अवस्था सिर्जना नहोस् भन्ने ध्येयले आवश्यक तयारी गरिएको थपलियाले बताउनुभयो ।
बल प्रयोग गरी वा डर, त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने जो कोहीलाई तत्काल कारबाही गर्ने आयोगले चेतावनी दिएको छ ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८ सय ४९, नेपाल प्रहरीका ७१ हजार ६ सय ९३, सशस्त्र प्रहरी बलका ३५ हजार १ सय १६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८ सय २१ सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै चुनावका लागि नै भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
प्रतिनिधिससभामा देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । त्यस्तै प्रदेशसभामा ३ सय ३० जना प्रत्यक्ष र २ सय २० जना समानुपातिक पद्धतिबाट निर्वाचित हुनेछन् ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४ सय१२ उम्मेदवार छन् । जसमा १ हजार ५ सय ४५ जना दलका र ८ सय ६७ जना स्वतन्त्र उम्मेदवार छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ तीन हजार २२४ जना कुल उम्मेदवार छन् । जसमध्ये दुई हजार १३० जना दलका र एक हजार ९४ जना स्वतन्त्र उम्मेदवार छन् ।
चुनावका लागि देशभर १० हजार ८ सय ९२ वटा मतदानस्थलमा २२ हजार २ सय २७ वटा मतदान केन्द्र रहेका छन् ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरुमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ । चुनावमा २ लाख ४६ हजार ९ सय ६० जना कर्मचारी खटिएका छन् ।
यी मतदानस्थलबाट अस्थायी मतदातामा दर्ता भएका ४ लाख ५० हजार जनाले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा मात्र मतदान गर्न पाउनेछन् ।
यो चुनावमा आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रत्यक्षतर्फ भाग लिएका छन् भने समानुपातिकतर्फ ४७ दलले सहभागिता जनाएका छन् ।


















