Prakash Adhikari March 24, 2018

सिमरा(बारा) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले ५ वर्षभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आधा काम सिध्याउने दावी गरेका छन् ।

शुक्रबार बाराको सिमरामा आयोजित सिमरा औद्योगिक महोत्सवमा उनले भने,’ हावादारी कुरा बोलेर हुँदैन, म ५ बर्षमै यति ठूलो अन्तराष्ट्र्यि विमानस्थल बन्छ भन्दिन, कम्तीमा २ बर्षमा पुर्वतयारीको काम सकिनुपर्छ ।’ मन्त्री अधिकारीले थपे , ‘यति ठूलो आयोजना जादु जसरी सम्पन्न हुँदैन, ५ बर्षभित्र आधाआधी काम सक्न पाए हामीले ठूलै युद्ध जितेसमान हुनेछ ।’

मन्त्री अधिकारीले स्थानीय जनप्रतिनिधिलाई आयोजना निर्माणमा सहयोग गर्न आग्रह पनि गरे ।

उनले मन्त्रालयबाट गर्नुपर्ने कुनै पनि काममा विलम्ब नगरिने पनि बताए ।मन्त्री अधिकारीले शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पर्ने टाँगीयाबस्तीको स्थलगत अवलोकनसमेत गरेका छन् ।

२०७१ को २९ चैतमा सरकारले विमानस्थलको चार किल्लाको घोषणा गरेपछि पूर्व, पश्चिम र दक्षिण सिमानामा ५०र५० मिटरमा पक्की पिलर गाड्ने काम सकिएको छ ।

आयोजना कार्यालय सिमराले टांगिया वस्तीको पुनर्वासको सम्बन्धमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार वातावरणीय प्रभाव, सामाजिक प्रभाव तथा पुर्नवास सम्बन्धी अध्ययनकार्यको अन्तिम प्रतिवेदन नेपाल नागरिक उड्डयन कार्यालयमा प्राप्त भई वातावरण मन्त्रालयमा पेश गर्ने चरणमा रहेको जनाएको छ ।

मुआब्जामा असन्तुष्टी देखिएका स्थानीय कोल्हबी नगरपालिका, काँटगाउँका स्थानीय भने मुआब्जा लिन राजी भएका छन् । सो क्षेत्रभित्र पर्ने १ सय १५ बिघा जमिनमध्ये मुआब्जा प्रक्रियापछि १५ बिघा जमिनको आयोजनाले भोगाधिकार प्राप्त गरिसकेको छ ।

Share Now

Leave a comment.