काठमाडौं, २७ मंसिर । दलहरूले चयन गरी पठाएका प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक सांसदलाई निर्वाचन आयोगले निर्वाचित भएको घोषणा गरेर प्रमाण पत्र दिने तयारी गरेको छ।
समावेशी सिद्धान्तअनुसार दलहरूले पठाएका उम्मेदवारलाई आयोगले सम्भवत आज निर्वाचित भएको घोषणा गर्नेछ।
प्रतिनिधि सभातर्फ समानुपतिकमा १ सय १० र प्रदेश सभातर्फ २ सय २० सांसद निर्वाचित हुँदैछन्। प्रतिनिधि सभा प्रत्यक्षतर्फ १ सय ६५ र प्रदेश सभा प्रत्यक्षतर्फ ३ सय ३० क्षेत्रको नतिजा पहिले नै आइसकेको छ।
निर्वाचन आयोगका समानुपातिक निर्वाचन तर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिकतर्फ दलहरूले पठाएका सूचीमा केही त्रुटि देखिएकोमा सच्याएर पठाइसकेको बताउनुभयो।
प्रतिनिधि सभातर्फ दलहरूले पठाएको सूचीमा त्रुटि नभेटिए पनि पाँच वटा प्रदेश तर्फका समानुपातिक सूचीमा त्रुटि देखिएपछि आयोगले सच्याउन समय दिएको थियो।
दलहरूले सोमबार त्रुटि सच्याएर समावेशी सिद्धान्तअनुसार मिल्ने गरी नामसमेत पठाइसकेका छन्।
‘दलहरूले पठाएका उम्मेदवार निर्वाचित भएको घोषणा गरेर प्रमाण पत्र दिन्छौं,’ वाग्लेले भने, ‘त्यसपछि आयोग मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने तरखरमा जुट्छ, सकेसम्म छिटो प्रतिवेदन बुझाउँछौं।’
आयोगले भोलि बुधबारभित्र राष्ट्रपतिलाई अन्तिम मतपरिणाम प्रतिवेदन बुझाउने तयारी गरेको छ। राष्ट्रपतिले निर्वाचन परिणामको प्रतिवेदन बुझेको केही दिनपछि बल्ल नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ।
त्यसपछि राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नुहुनेछ, केही दिन समय दिएर।
संघीय सरकार बनाउन प्रतिनिधि सभामा बहुमत पुर्याउन १ सय ३८ सांसदको समर्थन चाहिन्छ।
अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ८९, नेकपा एमालेसँग ७८, नेकपा माओवादीसँग ३२, राष्ट्रिय स्वतन्त्र पार्टीसँग २०, राप्रपामा १४, जसपामा १२, नेकपा एकीकृत समाजवादीमा १०, जनमत पार्टीमा ६, लोसपामा ४, स्वतन्त्र ५, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा १, नेमकिपासँग १ जना गरी प्रतिनिधि सभामा कुल २ सय ७५ जना सांसद छन्।
सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, चुनावी तालमेल गरेको लोसपा, राष्ट्रिय जनमोर्चा गरी जम्मा १ सय ३६ जना सांसद हुन्छन्। नयाँ सरकार बनाउन बहुमतका लागि सत्ता गठबन्धनलाई २ जना सांसद चाहिन्छ।
स्वतन्त्र उम्मेदवारी दिई गठबन्धनकै सहयोगमा जितेका प्रभु साहलगायतले साथ दिए बहुमत पुग्न सक्ने देखिन्छ। तर संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने सरकारमा दुई वा दुईभन्दा बढी दल लेखेकोले स्वतन्त्रले समर्थन गर्न मिल्ने वा नमिल्नेबारे प्रष्ट छैन।
सत्ता गठबन्धनलाई नयाँ सरकार बनाउन सिके राउत नेतृत्वको जनमत पार्टीले समर्थन गर्ने सम्भावना छ। अध्यक्ष राउतले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धन दलका शीर्ष नेताहरूसँग यसबारे कुराकानी गरिसकेका छन्। जनमत पार्टीले समर्थन गरेमा सत्ता गठबन्धनसँग १ सय ४२ जना सांसद पुग्ने देखिन्छ। सत्ता गठबन्धनले ३ सांसद रहेको नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउन जमर्को गरिरहेको छ।


















