Prakash Adhikari December 16, 2022

 

काठमाडौं, १ पौष । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने मनस्थितिमा पुग्नुभएको छ ।

पार्टीको संस्थापन विरोधी समूहबाट उहाँलाई दलको नेता बन्न दवाव आउन थालेपछि उहाँ पनि त्यसको लागि तयार हुनुभएको हो ।

संस्थापन इतर समूहबाट पहिल्यै महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता लड्ने घोषणा गर्नुभएको थियो । उहाँले निर्वाचनको समयमा भावि प्रधानमन्त्रीको रुपमा मतदातासामु मत पनि माग्नुभएको थियो ।

संसदीय दलको नेतामा थापालाई समर्थन गर्दा आफ्नो राजनीतिक भविष्य लगभग सकिने अवस्था बुझेपछि उहाँ संसदीय दलको नेतामा उठ्न तयार हुनुभएको उहाँ निकट सांसदहरुले बताएका छन् ।

संसदीय दलको नेतामा थापालाई समर्थन गर्दा जिते पनि हारे पनि संस्थापन इतरसमूहको नेता थापा हुन जाने भएकोेले डा.कोइराला आफै अगाडि बढ्नुभएको बताइन्छ ।

हुन त एकथरी मध्यमार्गी नेताहरु पार्टीको १५ औं अधिवेशनमा सभापति उठ्न मौखिक वा लिखित सहमती गराएर डा.कोइरालालाई संसदीय दलको नेतामा उठनबाट रोक्न प्रयास गरिरहेका छन् । तर संसदीय दलको नेतामा उठ्े पछि दलको संस्थापन इतरको नेताको स्थान जो उठ्छ उसैले लिने र ४ बर्षपछि हुने पार्टी सभापतिमा पनि उसको पक्षमा माहोल बन्ने लगभग निश्चित नै छ । महामन्त्री थापा उठ्नुभयो भने भावि सभापतिमा उहाँको वेगलाई कसैले थाम्न सक्ने छैन ।

अहिलेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा लागेको युवा नेतृत्वको नारालाई कसैले रोक्न सक्दैन । महामन्त्री थापा उठ्दा पार्टीभित्र संस्थापन इतर समूहमा अरु थप समस्या पनि देखिन्छ । जस्तो पार्र्टी उपसभापति धनराज गुरुड. हुनुहुन्छ , थापालाई सार्दा उहाँको पनि राजनीतिक भविष्य समाप्तितिर जान्छ । यो समस्या थापाभन्दा वरिष्ठ सबै नेताहरुमा आउन सक्छ । त्यसैले युवाको चाहना हुँदा हुँदै पनि धेरै नेताहरु डा.शेखर कोइरालालाई अगाडि सार्ने निष्कर्षमा पुगेका हुन् ।

 

नेताहरुका अनुसार संसदीय दलको अंकगणित हेर्दा दलको नेतामा देउवाको जित निश्चितजस्तै छ । ‘हार्ने चुनाव’ मा को उम्मेदवार हुने भन्ने विवाद गर्ने हो भने १४औं महाधिवेशनबाट बनेको यो समूहको नाश मात्र हुने भन्दै केही नेता सहमति खोज्न भन्दै दौडधुप गरिरहेका छन् । सांसदहरुलाई भेट्दै आएका एक नेता भन्छन्, ‘१५ औं शेखरलाई सभापतिमा अघि सार्ने घोषणा गर्न लागाउने र संसदीय दलको नेतामा गगनलाई समर्थन गर्ने हाम्रो प्रस्ताव छ ।’

गगनका ससुरासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अर्जुनरसिंह केसीलगायतका नेताहरुले समूहका नेताहरुसँग निरन्तर सम्वाद पनि गरेका छन् । तर सहमतिको संकेत देखिएको छैन । शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार छाड्न तयार छैनन् ।

 

समूहका नेताहरुसँग छलफल नै नगरी संसदीय दलको नेताको उम्मेदवारका रुपमा अघि सारेकोमा असन्तुष्ट नेताहरु गगनको पुस्तान्तरणको नारामा समेत रुष्ट छन् । ‘हाम्रो ट्रेन हिँड्यो, बस्ने भए आउनुस्, नभए छुट्यो भन्ने जुन शैली ठीक भएन,’ शेखर निकट एक नेता भन्छन् ।

उनीहरु गगनको अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग बढ्दो समिप्यतालाई लिएर समेत प्रश्न गर्छन् । गगनले दलको नेता लड्ने घोषणा गरेपछि शर्माले सार्वजनिक रुपमै समर्थन गरेका छन् । झापा क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित शर्माले गगन प्रस्तावक नै बस्ने बताउने गरेका छन् । त्यसमा प्रश्न गर्दै शेखर समूहका एक नेता भन्छन्, ‘गगन नै दलको नेता लड्ने भए शेखर कोइराला प्रस्ताव बस्ने होला, धनराज गुरुङहरु बस्ने होला, विश्वप्रकाश होइन ।’

उनीहरुका अनुसार अब महामन्त्री गगन आफ्नो निर्णयमा पुनर्विचार गर्न तयार हुने हो भने सहमति खोज्न सकिन्छ । नभए डा। शेखरले पनि संसदीय दलको नेतामा उम्मेदवारी दिने छन् ।

महामन्त्री गगन भने १५औं महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने बचन दिन तयार छन् । तर संसदीय दलको नेताको चुनाव लड्छु भनेर काठमाडौं–४ का मतदातासँग गरेको बाचामा चुक्न तयार छैनन् । यही अवस्था रहे यो समूह नै नरहने अवस्था आउने एक नेता बताउँछन् ।

शेखर र गगन १४औं महाधिवेशनमा जोडिएका थिए । १३औं महाधिवेशनमै महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन संस्थापन इतर समूहमा निर्विकल्प उम्मेदवार थिए । सभापतिमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर आकांक्षी थिए । गगन थापासहितका युवा नेताहरुले शेखरलाई साथ दिएपछि रामचन्द्र र शशांकले सभापतिको चुनाव नै लडेनन् भने प्रकाशमानले मुस्किलले ३०० मत कटाए । तर शेखरले ४० प्रतिशतभन्दा बढी मत पाएका थियो ।

यो समूहबाट धनराज गुरुङ उपसभापति, गगन महामन्त्री, जीवन परियार र बद्री पाण्डे सहमहामन्त्री चुनिएका छन् । उनीहरुसहित समूहका नेताहरुले शेखरलाई नै समूहका नेता मान्दै आएका थिए । महामन्त्री गगन लगायतका पदाधिकारीहरुले कार्यसम्पादन समिति गठनदेखि टिकट वितरणसम्म डा। शेखरसँग परामर्श गरेका थिए । तर पछिल्लो समय संवाद नै हुन छाडेको छ । चुनावपछि महामन्त्री गगन, शेखरलाई भेट्न उनकै निवास पुगेका थिए ।

दलको नेताबारे फेरि छलफल गर्ने भन्दै उठेका दुई नेताबीच फेरि सम्वाद नै हुन सकेको छैन । सहमतिको पक्षमा रहेका शेखर समूहका एक नेता भन्छन्, ‘महामन्त्री गगन आफैं डा। शेखर कहाँ गएर २÷४ चोटी छलफल गरे भयो । उहाँले पनि बोलाएर छलफल गरे हुने हो, तर सम्वाद नै छैन ।’

 

Share Now

Leave a comment.