काठमाडौं, २ पौष । बुद्ध एअरले कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर, सुर्खेतमा रहेको विमानस्थलमा एटीआर ७२ जहाजबाट शुक्रबारदेखि नियमित उडान शुरु भएको छ ।
उक्त गन्तव्यमा बुद्ध एअरको एटीआर ७२ जहाजमार्फत् नियमित उडान शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभएको छ ।
बुद्ध एअरले सुर्खेत विमानस्थलमा गत कात्तिक ३० मा एटिआर जहाजमार्फत् परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडानको प्रक्रिया थालिएको थियो । पौष १ देखि बुद्धले नियमित उडान पनि एटीआर ७२ मार्फत गर्दै आएको छ ।
प्राधिकरणका उच्च अधिकारीसहित ७० यात्रु लिएर बुध्द एयरको एटीआर जहाजले सुर्खेतमा पहिलो व्यावसायिक उडान भरेको कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताउनुभएको छ ।
आजदेखि हामीले ATR-72 विमानबाट सुर्खेत उडान शुभारम्भ गरेका छौं । यसले समस्त कर्णाली प्रदेशको यात्रामा थप सहज र सरल भूमिका खेल्नुका साथै पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुग्ने आशा गरेका छौं । यसमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने नागरिक उड्डयन प्राधिकरणलगायत सबैमा हार्दिक आभार । pic.twitter.com/2N909rLPGb
— Buddha Air (@AirBuddha) December 16, 2022
बुध्द एयरको एटिआर ७२ जहाजले काठमाडौँ–सुर्खेत गन्तव्यमा दैनिक एक उडान गर्नेछ । यसअघि कम्पनीले ४७ सिट क्षमताको एटिआर–४२ जहाजमार्फत् उक्त गन्तव्यमा दैनिक एउटा उडान गर्दै आएको थियो ।
ठूला जहाजमार्फत् उडानले कर्णाली प्रदेशको पर्यटन क्षेत्रको विकासका सहयोगी हुने विश्वास लिइएको छ । एटिआर–७२ जहाजमार्फत् नियमित उडान भएपछि उक्त रुटको हवाई भाडा पनि सस्तो हुने प्राधिकरणका प्रवक्ता निरौलाको भनाइ छ ।
हाल काठमाडौँ सुर्खेतसम्मको हवाई भाडा रु १४ हजारसम्म तोकिएको छ । ठूला जहाजमार्फत् उडानका लागि विमानस्थलको क्षमता विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।
यसअघि कोभिड-१९ महामारी पूर्व निजी क्षेत्रको श्री एयरलाइन्सले सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको थियो । कोभिडपछि भने उक्त गन्तव्यमा नियमित उडान हुन सकेको थिएन ।
यद्यपि बजारको अवस्था हेरी छिट्टै उक्त गन्तव्यमा उडान सञ्चालनको योजना रहेको श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले बताउनुभएको छ ।
बुध्द एयरको नियमित उडानपछि यती एयरको एटीआर जहाजले पनि उडान भर्ने प्राधिकरणले जनाएको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सुर्खेतमा एटीआर जहाजले उडान गर्ने योजना रहेको बताउनुभयो ।
बुध्द एयरले सन् २०१३ को फेबु्रअरी १ बाट बिचक्राफ्ट १९०० डी (१८ सिट) बाट सुर्खेत उडान शुरु गरेको थियो भने विगत पाँच वर्षदेखि एटीआर ४२ बाट नियमित उडान सञ्चालन गर्दै आएको थियो ।
एटीआर ७२ जहाजमार्फत उडान सञ्चालन गर्दा काठमाडौँ(नेपालगञ्ज रुटको हाराहारीमा न्यूनतम भाडादर कायम हुने कम्पनीले जनाएको छ ।



















