Prakash Adhikari December 21, 2022

काठमाडौं, ६ पौष । कांग्रेस संसदीय दलको निर्वाचनमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले झन्डै ७२ प्रतिशत मत ल्याएर विजयी हुनुभएको छ ।

बुधबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा भएको संसदीय दलको नेताको निर्वाचनमा नपाली कांग्रेसका ८९ सांसद मध्ये सभापति देउवाले ६४ मत पाउनु भयो भने निकटतम् प्रतिस्पर्धी महामन्त्री गगन कुमारले २५ मत । मतदानमा थापाले २८.०८ प्रतिशत मत पाउनुभयो भने देउवाले ७१.९१ प्रतिशत मत । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ ५७ सीट जितेको छ भने समानुपातिक तर्फबाट प्राप्त मतको आधारमा ३२ सीट पाएको छ ।

आजको निर्वाचन परिणामले कांग्रेस सभापति देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा ५ बमोजिम संसदीय दलको नेता पदको लागि आज सम्पन्न निर्वाचनमा संसदीय दलको नेता पदका उम्मेदवार माननीय गगन कुमार थापाले जम्मा २५ मत प्राप्त गर्नु भएको र माननीय शेरबहादुर देउवाले जम्मा ६४ मत प्राप्त गर्नु भएकोले संसदीय दलको विधानको धारा ५ (४) बमोजिम दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्यको मत माननीय शेरबहादुर देउवाले प्राप्त गर्नु भएकोले नेपाली कांग्रेस संसदीय दलको नेता पदमा निर्वाचित हुनुभएको घोषणा गरिन्छ’, निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदीय दलको नेतामा देउवालाई रामचन्द्र पौडेललगायतले सहयोग गरेका थिए भने थापालाई शेखर कोइरालालगायतका नेताहरूको समर्थन थियो ।

पार्टीको १४ औं महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी हुनुभएको थियो ।

संसदीय दलको निर्वाचनमा प्राप्त मतले कांग्रेस महामन्त्री र संस्थापन इतर समूहलाई कमजोर देखाएको छ । प्रतिनिधि सभाको निर्वाचनमा संस्थापन इतर समूहका २२ जनाले टिकट पाएका र त्यसमध्ये १८ जनाले जितेका थिए ।

सो समूहबाट समानुपातिका ९ जना सांसद निर्वाचत भएका छन् । यसरी प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित आफ्नै समूहका २७ मत पनि एकत्रित गरेर राख्न असफल भएकोले युवा नेता गगनप्रति नेपाली कांग्रेसका निर्वाचित सांसदहरुको विश्वास कम भएको पुष्टि हुन जान्छ ,

संसदीय दलको नेतामा उम्मेद्वारी दिने संघारमा संस्थापन पक्षबाट महामन्त्री लडेर पराजित तर यसपटकको प्रतिनिधि सभाको निर्वाचनमा संस्थापन तर्फबाट काठमाडौं ५मा उम्मेद्वारी दिनुभएका प्रदीप पौडेलले क्याम्प फेरेर युवा नेता गगन थापाको पछि लाग्नुभएको थियो ।

उहाँसमेत लागेकोले आफ्नो समूहमा ३३ मत पक्का खस्ने भन्दै देउवा क्याम्पका मतहरु चोर्ने अभियानमा लागेको गगन समूह आफ्नै पक्का भोट चोरिदा निकै शर्मनाक अवस्थामा पुगेको छ ।

हुन त यो निर्वाचनमा गगनले जितेको भए उहाँभन्दा पार्टीको वरियतामा रहेका धनराज गुरुड., पार्टीको चुनावमा उपसभापतिमा पराजित हुनुभएका डा.चन्द्र भण्डारी, सभापतिमा लडेर पराजित हुनुभएका डा. शेखर कोइरालासहित धेरै वरिष्ठ नेताहरुको राजनीतिका भविष्य सकिने थियो । अनुभवी,पुराना र पार्टीका लागि आवश्यक ठानिएका नेताहरुको राजनीति जोगाउन टिमभित्र वगावत भएको कांग्रेसका सांसदहरु बताउछन् । उनीहरुको भनाईमा डा.शेखर उठेको भए प्रधानमन्त्री तथा पार्टी सभापति देउवाकै हाराहारीमा मत आउन सक्ने संभावना थियो ।

Share Now

Leave a comment.