काठमाडौं १२ चैत्र । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा संघीय समाजवादी फोरम नेपालका सांसद तथा नेताहरु सम्मिलित १५ सदस्यीय टोली आईतबार राती चीन भ्रमणमा निस्केको छ ।
पार्टीका उपाध्यक्ष रेणु यादवको नेतृत्व टोलीमा ४ जना प्रतिनिधिसभा सदस्य, २ जना प्रदेशसभा सदस्य, एक जना राष्ट्रियसभा सदस्य र ८ जना पार्टीका अन्य केन्द्रीय सदस्य रहेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा सात दिनका लागि चीन गएको टोलीले चीनको कम्युनिष्ट पार्टीका नेताहरु, मन्त्रीहरु, बेइजिड. महानगरका प्रमुखसंग भेटघाट गर्ने कार्यक्रम छ । प्रतिनिधि मण्डलले गोञ्झाउ, गुयाड. र बेइजिड.को भ्रमण गर्नेछ ।
प्रतिनिधि मण्डलकी नेतृ यादवले चीन सरकारबाट निर्वाचन अगाडि नै निमन्त्रणा आएको तर निर्वाचनका कारणले त्यतिबेला जान नसकिने जानकारी गराउदा उपयुक्त समयमा भ्रमण गर्ने सहमति भए अनुसार यो भ्रमण हुन लागेको बताइन् । बताइन् ।
उनीसँग प्रतिनिधिसभाका प्रदीप यादव, रामबाबु यादव र सुरेन्द्र यादव तथा प्रदेशसभा सदस्य जयराम यादव र रणध्वज लिम्बु राष्ट्रियसभा सदस्य रामप्रित पासवान पनि सो टोलीमा सहभागी छन् ।
पार्टीको तर्फबाट दिनेश यादव, मिलनकुमार यादव, अर्जुन थापा, संजय सिंह, रामअषिश यादव, भूराज राई, शेषनारायण यादव पनि सो भ्रमण टोलीमा सहभागि रहेका जनाइएको छ ।
भ्रमणको क्रममा दुई देशको बीचका सम्बन्धका विषयमा छलफल हुने बताइएको छ ।
तीनै तहको चुनाव सम्पन्न भएपछि देशमा स्थायी राजनीतिक स्थापना हुन लागेको बेला फोरम नेपालको यो भ्रमण हुन लागेको हो ।
प्रदेश नं २ मा राम्रो पकड राखेको संघीय समाजवादी फोरमको यो भ्रमणपछि २ नं प्रदेशका प्रदेश स्तरीय र स्थानीय निकायमा चीनको सहयोग बढ्ने अपेक्षा गरिएको छ । चीन केही बर्ष यता नेपाललाई आर्थिक सहायता गर्ने र नेपालका पूर्वाधार तथा औद्योगिक विकासमा लगानी गर्ने मुलुकको सूचीमा शीर्षस्थानमा रहदै आएको छ ।