Prakash Adhikari December 27, 2022

कीर्तिपुर(काठमाडौं), १२ पौष । काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको हो ।

काठमाडौंले दिएको २ सय ९ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ५५ रन मात्र बनाएको थियो ।

जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोराले २६, पवन सर्राफ २४, शरफुद्दिन असरफले १९ रआदिल आलमले १६ रन जोडे ।

जनकपुरलाई रोक्ने क्रममा काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३विकेट लिए । बसिर अहमदले २ तथा कमलसिंह ऐरी, सुनाम गौतम, अनिल खरेल र अविनाश बोहोराले १।१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ रोजेको काठमाडौंले निर्धारित २० ओभरको खेलमा ६ विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । काठमाडौंका लागि एलेक्स ब्लेकले ८३ रन जोडे । उनले ४३ बलमा ४ चौका र ७ छक्काको सहयोगमा ८३ रन बनाए ।खेलमा विरनदीप सिंहले ४९, अज्मतुल्ला उमरजाइले अविजित ४३ र लोकेस बम १५ रन बनाए ।

काठमाडौंलाई रोक्ने क्रममा बलिङमा जनकपुरका पवन सर्राफले २ विकेट लिए। सोमपाल कामी, शरफुद्दिन असरफ, आदिल आलम र जितेन्द्र मुखियाले १।१ विकेट लिए ।

जितसँगै काठमाडौंले तीन खेलबाट चार अङ्क बनाएको छ । जनकपुरको पनि तीन खेलबाट चार नै अङ्क छ । ६ टोलीको सहभागिता रहेको लिग पौष २७ गतेसम्म हुनेछ ।

 

Share Now

Leave a comment.