काठमाडौं, १५ पौष। सूर्यविनायक(धुलिखेल सडक विस्तार आयोजना अन्तर्गतको दोस्रो खण्ड सूर्यविनायक(साँगाको पनि ठेक्का लागेको छ।
यो खण्डको सडक विस्तारका लागि टेण्डर हालेका कम्पनी मध्ये आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले ठेक्का पाएको हो।
यस आयोजना निर्माणको लागि प्रतिस्पर्धा गरेका ठेकेदारमा ३ वटा जेभीसहितका निर्माण कम्पनीहरु प्राविधिक मूल्यांकनमा पास भएका थिए। जसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभी, स्वछन्द, एपेक्स, शक्ति जेभी र कालिका कन्स्ट्रक्स आर्थिक प्रस्ताव पेस गर्न सक्षम भएका थिए।
यसमा आशिष, कुमार श्रेष्ठ, बन्दन भगवती जेभीले सबैभन्दा कम कबोल गरेकाले ठेक्का पाएको हो। यो जे.भी.ले यो सडक खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँमा प्रस्ताव गरेको छ।
यस आयोजनाको पहिलो खण्ड साँगा(धुलिखेल सडक विस्तार गर्न ४ अर्ब ५६ करोड रुपैयाँ लागतमा ठेक्का लागिसकेको छ। यसको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनीले पाएको हो। अहिले उक्त ठेक्का सम्झौताको चरणमा रहेको आयोजनाले जनाएको छ।
सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तार गर्न साढे चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
यसमा ठेक्का पाउने निर्माण व्यवसायीले ३ वर्षभित्र निर्माण पुरा गर्नुपर्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मासमेत लिनु पर्नेछ।
यस्तै पुल निर्माणको लागि भने छुटै ठेक्का आह्वान गरिने आयोजनाको भनाइ छ। यसका लागि डीपीआरमा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत अनुमान गरिएको छ।
प्रतिवेदन अनुसार यस आयोजनामा २०र२० मिटरको तीनवटा पुल पुन्नेमा, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने आयोजनाले जनाएको छ। यसका लागि छुट्टै ठेक्का आह्वान गरिनेछ। यसको लागि प्रतिमिटर १५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ।


















