कीर्तिपुर(काठमाडौं), १६ पौष । नेपाल टी २० लिग अन्तरगत आज पहिलो खेल पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्सबीच भैरहेको छ ।
आजको खेलमा टस जितेर ब्याटिड. रोजेको लुम्बिनीले २० ओभरको खेलमा १ सय २७ रन बनाएर पोखरालाई १ सय २८ रनको लक्ष्य दिएको छ ।
लुम्बिनीका तर्फबाट आजको खेलमा हरमित सिंहले ३८, श्याडलि भान स्कल्क्विकले १६,सुनिल धमलाले १५, योगेन्द्रसिंह कार्कीले १३, ह्यारी ट्याकरले ११,दीपेन्द्रसिंह ऐरीले १०, प्राट ब्रोनले ७, किशोरी महतोले ४ र गुल्शन झाले २ रन जोडेका थिए ।
लुम्बिनीलाई रोक्न पोखराका विपिन खत्री र जाहिर खानले ३। ३ तथा आरिफ शेख,तुल थापा र सिद्धान्त लोहनीले १ । १ विकेट लिएका थिए ।
अहिले पोखराको इनिड. चलिरहेको छ । उसले चौथो ओभरको अन्त्यसम्म ३३ रन बनाएको छ ।
फारवेष्टलाई हराएर पहिलो जित
शुक्रबार टियू मैदान कीर्तिपुरमा भएको खेलमा पोखराले फार वेस्टर्न युनाइटेडलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको पाँचौँ खेलमा पहिलो जित निकाल्यो।
फार वेस्टर्नको भने यो चौथो हार हो। हारपछि फार वेस्टर्न अङ्क तालिकाको पुछारमा झरेको छ। पोखरा भने पाँचौँ स्थानमा उक्लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टर्नले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि उमर अलीले ४२ रन बनाउँदा रासिद खानले ३२ रन तथा ओपनर देव खनालले ३३ रन जोडेका थिए।
त्यस्तै, हासिम अन्सारी र भिम सार्कीले समान १७ ।१७ रन बनाएका थिए। करण केसीले १२ रन बनाउँदा विनोद भण्डारीले ११ रन बनाएका थिए।
पोखराका लागि जाहिर खानले ३ विकेट लिँदा अमिर हम्जा र तुल थापाले २ । २ विकेट लिएका थिए।
१ सय ८८ रनको लक्ष्य पछ्याएको पोखराले उक्त लक्ष्य ५ बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गरेको थियो। पोखराका लागि आसिफ शेखले ४५ रन बनाउँदा सुमित महर्जनले ३८ रन बनाएका थिए। सुमित र आसिफले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए।
त्यस्तै, कुशल मल्लले ४० रन बनाउँदा सिद्धान्त लोहनीले २३ रन बनाएका थिए। त्यस्तै, अमिर हम्जाले १२ रन बनाएका थिए।
फारवेस्टर्नका लागि करण केसी, उमार अलि र प्रकाश जैशीले समान २ । २ विकेट लिए पनि टिमको हार टार्न सकेनन्।


















