Prakash Adhikari January 1, 2023

 

पोखरा(कास्की), १७ पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ ।
यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल शनिबार बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो ।

सिङ्गै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण

आफ्नो उद्घाटन मन्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिलाई मूलमन्त्र बनाएर जनताको निम्ति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

प्रधानमन्त्री दाहालले आफूले बाँकी जीवन मुलुकको आर्थिक विकास र समृद्धि तथा सुशासन र सामाजिक न्यायका लागि आफूले काम गर्ने बताउनु भएको हो।

उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले पोखरामा मात्रै नभएर सिङ्गै मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभयो।


प्रधानमन्त्री दाहालले विमानस्थल निर्माणका लागि आफूले लिएको पहलकदमीबारे चर्चा गर्नुहुँदै प्रधानमन्त्रीको रूपमा उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महसुस गरेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘नेपाल सरकारको तेस्रो कार्यकालको प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक हप्ता बित्न नपाउँदै सुन्दर र पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको हेर्न पाउँदा हर्ष र गर्व महसुस भएको छ।’’

उहाँले कास्की आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै त्यसले आफूलाई अझ नयाँ ऊर्जाका साथ काम गर्न प्रेरणा मिलेको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनुपर्दछ भनेर पोखरेलीले पटकपटक गरेको आन्दोलन, सङ्घर्ष र अनशन पनि स्मरण गर्नुभयो ।

उहाँले पर्यटकीय केन्द्रको रूपमा पोखरा विश्वभरि परिचित भएको चर्चा गर्नुभयो।

‘‘तपाईंहरुसँगै हामी सबैको सपना यो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण होस्। यसले हाम्रो समग्र आर्थिक विकास एउटा नयाँ योगदान पोखराले गर्न सकोस्। यसै पनि पोखरा नेपालकै एउटा पर्यटकीय केन्द्रको रूपमा विश्वभरि परिचित छ’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो।

प्रधानमन्त्री दाहालले मुलुकको आर्थिक विकासका लागि कनेक्टिभिटीको महत्त्वपूर्ण भूमिका भएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ठोस योगदान पुर्‍याउने स्पष्ट पार्नुभयो।

पोखरा नेपालको पर्यटकीय केन्द्र : अर्थमन्त्री पौडेल

इतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।

आइतबार विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै पौडेलले विमानस्थलको सदुपयोग गरेर पोखरालाई पर्यटकको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनु भएको हो।

उहाँले विमानस्थललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

उहाँले विमानस्थलको निर्माणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको योगदान रहेको भन्दै स्मरण गर्नुभयो।

एमाले उपाध्यक्षसमेत रहनु भएका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिएर सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासनसमेत दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्नेछ। त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गर्दछु। यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

उपप्रधानमन्त्री तथा अर्थमन्त्री उपप्रधानमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने काममा आफूहरू सफल हुनेसमेत दोहोर्‍याउनुभएको छ।

विमानस्थल उद्घाटनसँगै आइतबारदेखि सबै आन्तरिक उडान यही विमानस्थलबाट हुनेछन् । चीनको एक्जिम बैङ्कको २२ अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो । विक्रम संवत् २०७३ मा शिलान्यास गरिएको विमानस्थलको २०७४ देखि निर्माणकार्य सुरु भएको थियो ।

Image

कर्जालाई अनुदानमा परिणत मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रवाह भएको ७५ प्रतिशत कर्जालाई अनुदानमा परिणत गर्न चीन सराकारसमक्ष आग्रह गर्नुभएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई यहाँ आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनको एक्जिम बैङ्कबाट विमानस्थल निर्माणका लागि लिइएको करिब रु २२ अर्बमध्ये ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्नुभएको हो।

“म नेपालस्थित चिनियाँ राजदूतावासमार्फत चीन सरकारसमक्ष ७५ प्रतिशत ऋणलाई पनि अनुदानमा परिणत गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो।

विमानस्थल निर्माणका लागि कुल लगानी करिब रु २२ अर्बमध्ये २५ प्रतिशत अनुदान र बाँकी ७५ प्रतिशत ऋण लिइएको थियो। मुख्यमन्त्री पोखरेलले ४७ वर्षदेखिको पोखरावासीको सपना बल्ल साकार भएको बताउनुभयो। सो अवसरमा उहाँले सम्पूर्ण पोखरेली, परिकल्पनाकार शङ्करराज पाठक तथा विमानस्थल निर्माणमा खट्ने सबैलाई हार्दिक धन्यवादसमेत दिनुभयो।

Image

विमानस्थलबाट पहिलो चरणमा दक्षिण एसिया र दोस्रो चरणमा पश्चिमी देशमा हवाई उडान हुनुपर्ने उहाँको भनाइ थियो। विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढ्ने मुख्यमन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो। “पोखरामा अब कम्तीमा दुई साता बस्ने र दुई हजारभन्दा बढी डलर खर्च गर्ने पर्यटक ल्याउन सक्नुपर्छ”, उहाँले भन्नुभयो।

मुख्यमन्त्री पोखरेलले अन्तर्राष्ट्रिय सभाहल र क्रिकेट मैदान पनि पोखराका लागि आवश्यक भएको उल्लेख गर्दै यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष आवश्यक बजेट विनियोजनका लागि आग्रह गर्नुभयो।

पुरानो विमानस्थल सञ्चालनमै रहने

आइतबारदेखि क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि २०१४ सालदेखि सञ्चालनमा रहेको पुरानो विमानस्थलसमेत सञ्चालनमै रहनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको उडान अवतरणमात्रै हुनेछ । जोमसोम र मनाङको हुम्दे उडान तथा अल्ट्रालाइट र हेलिकोप्टरको उडान भने पुरानै विमानस्थलबाट सञ्चालन हुनेछन् ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हाल सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग छोटो रहेकाले स्टल रुटका जहाज पुरानो विमानस्थल र ट्रक रुटका जहाज नयाँ विमानस्थलबाट सञ्चालन हुनेछन् । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पुरानो विमानस्थलसमेत सञ्चालनमै रहने भएकाले त्यहाँबाट जोमसोम–पोखरा उडान, अल्ट्रालाइट र हेलिकोप्टरको उडान यथावत् रहनेछ ।”

नयाँ विमानस्थलबाट काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सिमरा, जनकपुरलगायतका सहरी गन्तव्यमा उडान हुने उहाँले बताउनुभयो । नयाँ विमानस्थल सञ्चालनमा आएपछि पुरानो विमानस्थल हाललाई दिउँसोमात्रै सञ्चालनमा रहनेछ ।

यसअघि नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमास्थललाई विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने, पाइलट ट्रेनिङ सेन्टर बनाउने, उड्डयन प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने, साहसिक खेलकुदका लागि प्रयोग गर्नेबारे छलफल भए पनि हाललाई हवाई सेवामै पुरानो विमास्थल सञ्चालनमा रहने भएको हो । हालको तयारीअनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्स, बुद्ध एयर र यती एयरलाइन्सले उडान गर्नेछन् भने तारा र समिट एयरलाई पुरानै विमानस्थलबाट उडान गराउने प्राधिकरणको तयारी छ ।

प्राधिकरण स्रोतका अनुसार पुरानो विमानस्थलको वैकल्पिक प्रयोजनका लागि चालू आर्थिक वर्षको बजेटमै व्यवस्था गरेर कर्मचारी आवास गृह बनाउनेसमेत तयारी छ । बहुवर्षीय आयोजनाअन्तर्गत पुरानो विमानस्थल क्षेत्रमा आवास गृह बनाउन प्राधिकरणले तीन करोड रुपियाँ बजेट छुट्याएको थियो । त्यस्तै बहुद्देश्यीय व्यापारिक भवन बनाएर व्यावसायिक गतिविधि सञ्चालन गर्नेसम्बन्धी पनि प्राधिकरणको तयारी रहेको छ ।

कुल एक हजार १५६ रोपनी क्षेत्रफलमा फैलिरहेको पुरानो विमानस्थलमा एक हजार १४७ मिटर लामो र ४० मिटर चौडाइको धावनमार्ग छ । मौसम खराब भएको समयमा बिहान उडान प्रभावित हुँदै आएको यो विमानस्थलमा बेलुका तीन बजेपछि समेत उडान–अवतरण हुन मुस्किल पर्छ ।

पुरानो विमानस्थलमा दृश्यमा आधारित उडान नियम (भीएफआर) प्रविधिमा आधारित भएरमात्र उडान हुने भएकाले झरी पर्दा, तुवाँलो लाग्दा यहाँको उडान प्रभावित हुँदै आएको थियो ।

Share Now

Leave a comment.