पुल्चोक(ललितपुर), २८ पौष। उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । उनीमाथि नाबालिगउपर यौनदूराचार गरेको आरोप थियो ।
जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर दूराचारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेशविरूद्ध सन्दिपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
सोही निवेदनमा पाटन उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमै छाड्न आदेश दिएको हो । इजलाशले उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको लामिछानेका वकिल सरोज घिमिरेले जानकारी दिए ।
‘भोलि २० लाख बुझाएर छुट्छन्। विदेश जानलाई सर्तहरू छन्,’ उनले भने । सन्दीप नाबालिग बलात्कारको मुद्दामा पुर्पक्ष थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।
उच्च अदालतको फैसलाको पूर्णपाठको लागि तल क्लिक गर्नुहोलाः
गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिइएको थियो । यसअघि यौनदूराचारमा आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको हाँे ।
पर्सास्थित अस्पतालले पठाएको जन्मदर्ता अभिलेखबाट किशोरीको उमेर सन्दीपसंग यौनसम्पर्क हुदाँ १८ बर्ष पुगेको देखिएको उल्लेख छ । तर किशोरीका वकिलहरुले भने किशोरी १८ वर्ष मुनिकोभएको भन्दै आएका छन् ।
उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।
पीडित भनिएकी बालिकाको उमेर १८ बर्षमाथि भएमा भने सन्दीपमाथि लागेको आरोप कमजोर हुन्छ । सर्वोच्च अदालतले अन्नपूर्णा राणाको अंशसंबन्धी मुद्दाको फैसला गर्दा सहमतिमा भएको यौनसम्बन्धलाई अपराध मान्न नसकिने फैसला गरेको थियो । अन्नपूर्णाको अंशसम्बन्धी मुद्दामा उनकी आमाको तर्फबाट उनी परपुुरुषसंग बस्दै आएकोले अंश नपाउने जिकिर गर्दै उनको कौमार्यताको डाक्टरी परीक्षणको माग गरिएको थियो ।
गत भाद्र ५ गते आफूमाथि जबरजस्ती यौनदूराचार गरेको भन्दै एक किशोरीले गौशालास्थित प्रहरी परिसरमा भाद्र २१ गते उजुरी दिएकी थिइन । सन्दीपसंग सामान्य सोधपुछ बिनानै सन्दीमाथि आरोप लगाई जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गर्ने एअरपोर्टमा ब्याकलिष्ट गर्ने र इन्टरपोलमा खबर गर्ने लगायतका काम भएपछि क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका सन्दीप खेल छोडेर अमेरिका हुँदै नेपाल आएका थिए । नेपाल फर्कदा असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।




















