Prakash Adhikari March 28, 2018

दोहा(कतार), १३  चैत्र। एएफसी एसियन कप छनौटतर्फ समूह चरणको अन्तिम खेलमा नेपालले यमनसँग १–२ गोलको हार बेहोर्दै प्रतियोगिताको समापन गरेको छ । यसअघि काठमाडौंमा सम्पन्न पहिलो लेगको खेलमा भने नेपाल र यमनले गोलरहित बराबरी खेलेका थिए ।

मंगलबार राती कतारको दोहास्थित सुहिम बिन हमाद स्टेडियममा सम्पन्न समूह चरणको अन्तिम खेलमा यमनविरुद्ध बराबरी खेल्दै प्रतियोगिताको सुखद समापन गर्ने अवसर नेपालले गुमाउन पुग्यो । यमनको जितमा अब्दुलबासिया अल मतारीले खेलको २४ औं मिनटमा पहिलो गोल गरे । तर खेलको ४५ औं मिनटमा नेपालका लागि नवयुग श्रेष्ठले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर खेलको अन्तिमतिर नेपालका कप्तान बिराज महर्जनले फाउल गरेपछि यमनले पेनाल्टीको अवसर पाएको थियो । जसलाई सदुपयोग गर्दै अब्दुलवासियाले नै यमनका लागि दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

यो नतिजासँगै समूह एफबाट फिलिपिन्स र यमन आगामी बर्ष युएईमा हुने एएफसी एसियन कपका लागि छनौट भएका छन् । फिलिपिन्स १२ अंकका साथ शिर्ष स्थानमा छ भने १० अंक जोडेको यमन दोस्रो स्थानमा छ । त्यस्तै ७ र २ अंक जोडेका ताजिकिस्तान र नेपाल भने क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतियोगिताको समापन गरेका छन् ।

Share Now

Leave a comment.