Prakash Adhikari January 16, 2023

 

काठमाडौं, २ माघ । सत्ता साझेदार दलबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । अब भोलि(मंगलबार) मन्त्रीहरुले शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

सोमबार साँझ ६ बजेदेखि बेलुका १० बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले १७ मन्त्रालयको भागवण्डामा सहमति जुटाएको हो।

उक्त सहमतिअनुसार मंगलबार दिउँसो १ बजे मन्त्रीहरुको शपथ राखिएको छ।

त्यसअघि फेरि एकपटक सत्ता साझेदार दलको बैठक बस्नेछ। मन्त्रीको शपथपछि अपरान्ह ४ बजे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दलको बैठक राखिएको छ।

सत्ता साझेदार दलले मन्त्रालय बाडफाट गर्दा एमालेले ८ मन्त्रालय पाएको छ। एमालेबाट अहिले सरकारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीसहित विभाग बिनाका गरी ४ मन्त्रीहरु छन्।

यस्तै माओवादीले थप ४ मन्त्रालय पाएको छ। जसमा एक राज्यमन्त्री रहने छन् । अहिले माओवादीबाट प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री छन् । अब ३ मन्त्री र १ राज्यमन्त्री थपिने छन्।

रास्वपाले उपप्रधान तथा गृहबाहेक शिक्षा र श्रम मन्त्रालय पाएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्नु हुनेछ । साथमा सहरी विकास र खेलकुद मन्त्रालय राप्रपाको भागमा परेको छ।

जनता समाजवादी पार्टीलाई दुई मन्त्रालय दिने निर्णय भएको छ । तर जसपा सहमत भएको छैन।

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच ओली निवास बालकोटमा ५ घण्टा लामो वार्ता भएको थियो।

१० पौषमा ३ स्वतन्त्रसहित ७ दलका १ सय ६९ सांसदको समर्थनमा नेकपा माओवादीको अध्यक्ष प्रचण्डाप्रधानमन्त्री नियुक्त हुुनुभएको थियो ।उहाँको ११ पौषमा शपथग्रहण सम्पन्न भएको थियो । त्यी दिन प्रधानमन्त्री प्रचण्डले माओवादीबाट आफूसहित २, एमालेबाट ४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल गठन गर्नुभएको थियो।

बाँकी १७ वटा मन्त्रालयको बाँडफाँट एमाले अध्यक्ष ओलीसँगको सघन छलफलबाट गरिएको हो।

बालकोटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गर्नुभएको थियो।

मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ओलीसँग ५ घण्टा बढी छलफल गरेपछि प्रचण्डले मन्त्रिमण्डलले पूर्ण पाउने बताएका थिए।

Share Now

Leave a comment.