Prakash Adhikari January 19, 2023

काठमाडौं, ५ माघ । आज नवनिर्वाचित प्रतिनिधि सभाले आफ्नो नेता अर्थात सभामुखको निर्वाचन गर्दैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

यसपटक प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनका तर्फबाट एमालेका देवराज घिमिरेलाई उम्मेदवार बनाइएको छ । घिमिरे झापा २ बाट निर्वाचित प्रतिनिधि सभा सदसस्य हुनुहुन्छ ।

एमालेको स्थायी समिति सदस्यसमेत रहनुभएका घिमिरे यसअघि एकपटक राष्ट्रिय सभा सदस्य पनि निर्वाचित हुनुभएको थियो।उहाँ एमाले अध्यक्ष ओलीका अति निकट मानिनु हुन्छ ।

यता प्रतिपक्षको दावी गरिहेको नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेवदार बनाएको छ । न्यौपाने भने समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य हुनुभएको हो ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २ सय ७५ सदस्यमा निर्वाचित हुन १ सय ३८ ल्याउनु पर्नेछ ।

सत्ता गठबन्धनभित्र घात अन्तरघात नभएमा उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।

सत्ता गठबन्धनमा रहेका चार दलसंग एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा १ सय ४५ मत पुग्छ ।

सरकारलाई समर्थन गरेका जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टीले सभामुखमा सत्ता गठबन्धनका उम्मेद्वारलाई मत हाल्ने निर्णय गरिसकेका छैनन् ।

यता कांग्रेसकी न्यौपानेको पक्षमा भने पार्टीकै ८८ मत छ भने एकीकृत समाजवादीको १० मत रहेको छ । कांग्रेसलाई जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमोर्चाको मत आउने सभावना छ । सरकारसंग रुष्ट जनमत, नागरिक उन्मुक्ति पार्टी पार्टीले पनि कांग्रेस उम्मेदवारलाई मत हाले र सत्तारुढ दलका केही मत आकर्षित भएमा न्यौपाने निर्वाचित हुने संभावना पनि छ ।

सभामुखमा उम्मेदवारी दिएपछि न्यौपानेले आफूसंग जित्ने मत भएको दावी गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले पनि प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा तीन ठूला दलबीच भागबण्डा गरेर जाने संकेत दिनुभएको थियो ।

Share Now

Leave a comment.