Prakash Adhikari January 19, 2023

काठमाडौं, ५ माघ। ग्लोबल आइएमई बैंकले देशभर महिला लक्षित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तिकरणको प्रयास गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सबै प्रदेशमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरेको जनाएको छ ।

बैंकले एक साताभर देशका बिभिन्न स्थानमा महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु दिएका थिए। महिलाहरुको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका र नगरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रमअन्तर्गत प्रदेश १ को ईलाम नगरपालिकामा कार्यक्रम सम्पन्न भएको थियो भने मधेश प्रदेशको रौतहट फतुवा विजयपुर नगरपालिकामा स्वास्थ्य शिविर संचालन भएको थियो।

बाग्मती प्रदेशको दोलखा कालिन्चोक गाउँपालिका वडा नं. ६ स्थित स्वास्थ्य चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन भएको बैंकले जनाएको छ।

त्यसैगरी बैंकले गण्डकी प्रदेशको बागलुङ निसिखोला गाउँपालिकामा शिविर संचालन गरेको थियो। लुम्बिनी प्रदेशको रोल्पा रुन्टी गढीको होलेरी प्राथमिक स्वास्थ केन्द्रमा शिविर संचालन भएको थियो।

यस्तै कर्णाली प्रदेशको सुर्खेत कबेसी नगरपालिका तथा सुदूरपश्चिम प्रदेशको डोटी जोरायाल नगरपालिकामा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार ती स्वास्थ्य शिविरमा ८ सय ९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने बैंकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

बैंकले बिभिन्न समयमा प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको जनाएको छ ।

 

Share Now

Leave a comment.