Prakash Adhikari January 20, 2023

काठमाडौं, ६ माघ (बीबीसी) । माघ १ गते आइतवार यती एअरलाइन्सको विमान दुर्घटना भएपछि नेपाल र चीनले एउटा कोसेढुङ्गा परियोजनाका रूपमा उल्लेख गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यबारे प्रश्न उठेको विज्ञहरूले बताएका छन्।

नवनिर्मित विमानस्थल उक्त दुर्घटना हुनुभन्दा दुई साताअघि मात्र आन्तरिक उडानका लागि खुलेको थियो। तर त्यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भइसकेको थिएन।

बेइजिङले बेल्ट एन्ड रोड परियोजनाअन्तर्गतको पूर्वाधारका रूपमा उल्लेख गरेको सो विमानस्थलको निर्माण चिनियाँ एक्जिम ब्याङ्कको २२ अर्ब ७२ करोड रुपैयाँ ऋणमा भएको हो।

त्यसमा नेपाल सरकारको तर्फबाट थप २ अर्ब रुपैया र जग्गा अधिग्रहणमा अर्को ७ अर्ब रुपैयाँ जति खर्च भएको अधिकारीहरू बताउँछन्।

दुर्घटनाले थपेको चुनौती
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै यती एअरलाइन्सको एटीआर नाइनएन-एएनसी(9N-ANC) कल साइनको विमान सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो।

अवतरण गर्न लाग्दा भएको दुर्घटनामा ७१ जनाको मृत्यु पुष्टि भइसकेको छ।

बाँकी एक जनाको स्थिति शुक्रवार बिहानसम्म अज्ञात छ। तर सुरक्षाकर्मीहरूले दुर्घटनास्थलमा खोजी जारी राखेका छन्।

दुर्घटनास्थल
विमान दुर्घटनाबारे जाँच सुरु हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमा उडानहरू सञ्चालन गर्ने विषयमा पार्न सक्ने प्रभावबारेमा पनि टिप्पणी हुन थालेको छ।

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्री भन्नुहुन्छ “मेरो विचारमा विमानस्थलका कारण उक्त दुर्घटना भएको होइन। तर मानसिक रूपमा अलिकति शङ्का हुन सक्छ। मेरो विचारमा अन्तर्राष्ट्रिय उडानहरू हुन्छन्। फ्लाइट आउने आधारहरू हामीले सुनिश्चित गरिसकेका छैनौँ, हामीले गर्नुपर्छ।”

त्यसका लागि नेपालले पोखरा विमानस्थलनजिकै इन्धनको डिपो स्थापना गर्नुपर्ने, हटाइएको भनिएको डम्पिङ साइटवरपर चराको गतिविधि नियन्त्रण गर्नुपर्ने, कम्तीमा पाँच वर्षका लागि ल्यान्डिङ र पार्किङमा वायुसेवाहरूलाई सुविधा दिने जस्ता कदमहरू चालिनुपर्ने उहाँले बताउनुभयो।

तर त्यसबाहेक कोभिड १९ महामारीपछि पर्यटन र हवाई उद्योगमा विश्वव्यापी रूपमा परेको प्रभावले पनि नयाँ गन्तव्यमा वायुसेवाहरूलाई आकर्षण गर्न कठिन हुने कैयौँ विज्ञहरूले बताउनुभएको छ।

अपेक्षा कस्तो राख्नुपर्छ ?

नागरिक उड्डयन प्राधिकरणका अर्का पूर्वमहानिर्देशक सञ्जीव गौतम भन्नुहुन्छ, “चीनको शून्य कोभिड नीतिका कारण एशिया प्रशान्त क्षेत्रमा सन् २०२३ मा कुनै पनि वायुसेवा कम्पनीले समग्रमा नाफा कमाउँदैनन् भन्ने अन्तर्राष्ट्रिय एअर ट्रान्स्पोर्ट असोसिएशनको निष्कर्ष छ।कोभिडमा वृद्धि भएन भने सन् २०२४ सम्ममा हवाई ट्राफिकको अनुपात सन् २०१९ कै तहमा फर्कन्छ कि भन्ने अनुमान गरिएको छ।”

तर उहाँ नेपालमा भर्खरै खुलेका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल ठूलो आशा राख्नु नहुने धारणा राख्नुहुन्छ।

“संसारभरिका वायुसेवाहरूले घाटा खाइरहेको समयमा पोखरा विमानस्थल खुल्यो। यस्तो बेलामा कुनै पनि वायुसेवाले नयाँ रूटमा उडानहरू राख्दैनन् किनभने त्यसो गर्नु भनेको लागत बढाउनु हो। यस्तो बेलामा पोखरा र भैरहवामा सबैतिरबाट वायुसेवाहरू आउँछन् भन्ने अपेक्षा गर्नु नै गलत हो।”

पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ज्यानुअरी १ बाट सञ्चालनमा आएको हो

नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरूमा कार्य सञ्चालन विस्तार हुन थप ५ देखि ६ वर्षसम्म लाग्न सक्ने उहाँको अनुमान छ।

उहाँले अहिलेकै सङ्ख्यामा काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरू आइरहे सन् २०२८ मा यो विमानस्थलले धान्न नसक्ने अवस्था आउने अध्ययनहरूले देखाएको बताउनुभयो।

“त्यसपछि वायुसेवाहरू भैरहवा वा पोखरा जानु नै पर्ने हुन्छ। यी सम्भावनाहरू पनि छन्। तर आजको भोलि केही नहुन सक्छ। एक वर्षसम्म एउटा पनि उडान नहुन सक्छ। अन्तर्राष्ट्रिय परिवेश र भर्खरै भएको दुर्घटनाका कारण अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई पनि संशय हुन्छ नि।”

अघिल्लो वर्ष उक्त विमानस्थलको ऋण लगानीकर्ता एक्जिम ब्याङ्कले जारी गरेको एउटा विज्ञप्तिमा पोखरा विमानस्थलमा एअरबस ३२० र बोइङ ७५७ एवम् अन्य जेट मोडलहरूको उडान र अवतरण हुन सक्ने जनाएको थियो।

त्यसमा पोखराबाट चेङ्दु, कुन्मिङ, ग्वाङ्जाओ र अन्य चिनियाँ सहरमा उडान हुन सक्ने भन्दै यो पूर्वाधार नेपाल र चीनले विकास गरेको ुहिमालयवारपार बहुउद्देश्यीय सम्पर्क सञ्जालुको महत्त्वपूर्ण पूर्वाधार रहेको उल्लेख गरिएको छ।

ज्यानुअरी १ मा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त विमानस्थलबाट अहिले आन्तरिक उडानहरू भइरहेका छन्। अन्तर्राष्ट्रिय उडानहरूका लागि पनि पूर्वतयारीको काम अघि बढाइएको अधिकारीहरू बताउँछन्।

नेपालबाट चारदेखि साढे चारघण्टाको दूरीमा रहेका हवाई गन्तव्यहरूबाट पोखरामा सीधा उडान गराउन सकिने अपेक्षा विमानस्थल निर्माणका क्रममा गरिएको थियो।

पूर्वमहानिर्देशक क्षेत्रीका अनुसार खाडी तथा मध्यपूर्व एवं छिमेकी देशहरू भारत र चीनबाट प्रत्यक्ष उडान गर्न सक्ने आकलन गरिएको थियो।

सरकारी अधिकारीहरू के भन्छन् ?

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारी यती एअरलाइन्सको विमान दुर्घटनापछि देखिएको अन्योललाई जाँचबुझ आयोगको प्रतिवेदनले चिर्ने बताउनुहुन्छ।

अधिकारीले भन्नुभयो, “विमानस्थलकै कारणले विमान दुर्घटना भएको भन्ने हामीलाई लाग्दैन। प्राविधिकहरूको भनाइमा सबै दृष्टिकोणले विमानस्थल ठिक छ। अनुसन्धानको प्रतिवेदन आओस् अनि त्यसपछि हामी सबै कुरा पारदर्शी रूपमा सार्वजनिक गर्छौँ। भविष्यमा विमानस्थलकै विषयमा त्यत्रो समस्या भइहाल्छ जस्तो लाग्दैन।”

उहाँले उक्त विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई भित्र्याउने विषयमा नागरिक उड्डयन प्राधिकरणले पनि छलफल अघि बढाएको बताउनुभयो।

“भारत, चीन, श्रीलङ्का र मलेशियाबाट हुन सक्ने क्षेत्रीय उडानहरूका बारेमा पनि वायुसेवा सञ्चालकहरूसँग अनौपचारिक छलफल भइरहेको छ।”

नयाँ विमानस्थलसम्बन्धी कतिपय आधारभूत तथ्याङ्कहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको प्रकाशनमा नछापीकनै व्यावसायिक उडानहरू गरिएकोमा पनि कतिपयले प्रश्न उठाइरहेका छन्।

त्यसबारे एरोनटिकल इन्फर्मेशन पब्लिकेशनमा फेब्रुअरी २३ मा प्रकाशित हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रमराज गौतमले बताउनुभयो।

उहाँका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन भर्नेसहितका सुविधा छन्।

“प्राविधिक रूपमा हाम्रो विमानस्थलमा कुनै पनि समस्या देखिँदैन। अन्तर्राष्ट्रिय उडान गर्ने एअरलाइन्सहरूले प्रयोग गर्ने नियामक निकायहरूसँग बसेर मैलै पावरपोइन्ट प्रस्तुति दिएको छु”, उहाँले भन्नुभयो, “उहाँहरूले मागेका कागजपत्र पनि दिएका छौँ। उहाँहरूले आर्थिक विश्लेषण गरेर मेरो व्यापार त्यहाँ हुँदै जान्छ भन्ने निष्कर्ष निकाल्नुभयो भने उडानहरू राख्दै जाने हो।”

Share Now

Leave a comment.