
सोलुखुम्बु, ७ माघ। सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको सोलु दुधकोशी जलविद्युत् आयोजनाले यही माघ महिनाभित्रमा विद्युत् उत्पादन थाल्ने भएको छ ।
निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको टर्बाइन टेस्ट गरिएको छ ।
बाँध, सुरुङ, पेनस्टेक, विद्युत्गृहको परीक्षणपश्चात् पानीले टर्बाइन घुमाएर ‘बेट टेस्ट’ गरिएको हो । अब केही दिनमा लाइन परीक्षण गरिने आयोजनाले जनाएको छ । तिङलामा रहेको लाम्माने सबस्टेसनमा उपकरण परीक्षणपश्चात् विद्युत् उत्पादनको काम सुरु हुने साहस ऊर्जाका इन्जिनियर जेपी यादवले जानकारी दिनुभएको छ ।
यो आयोजना निजी क्षेत्रले निर्माणसम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो ।
आयोजनाको विद्युत् १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिङ्लास्थित लाम्माने सबस्टेसनमा जोडिनेछ ।
विद्युत् गृहदेखि सबस्टेसनसम्मको आवश्यक १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको हो ।
आयोजनाबाट वार्षिक ५२० गिगावाट घन्टा (५२ करोड युनिट) विद्युत् उत्पादन हुनेछ ।
कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षमा ४ सय १९ दशमलव ९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत् उत्पादन हुनेछ ।
आयोजनाबाट यसअघि २०७८ चैतबाट नै विद्युत् उत्पादन सुरु गर्ने तालिका भए पनि कोभिड–१९ महामारीको प्रभाव, प्रसारण लाइन निर्माणमा भएको ढिलाइ, उपकरण ढुवानी समस्या लगायतले तालिका सरेको कम्पनीले जनाएको छ ।
यो आयोजना सम्पन्न गर्न करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् ।
बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।