काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौँमा सुरु भएको छ।
बत्तिस पुतलीको अनुपम फुडल्याण्डमा आज बिहान ८ बजेदेखि भेला प्रारम्भ भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछिको अवस्थाको विश्लेष्ण गरी केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेश गर्ने तयारी स्वरुप ेभेला गरिएको बुझिएको छ ।
भेलामा १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी, शीर्ष नेता, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही माघ १५ गते बस्ने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने ।
गत पौष २८ गते अपरान्ह १ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे लाई सारिएको थियो ।
प्रधानमन्त्रीको विश्वासको मत, सभामुख र उपसभामुखको निर्वाचनलाई दृष्टिगत गरी केन्द्रीय समितिको बैठक सारिएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पौष २६ गते विश्वासको मत लिनुभएको थियो भने सभामुखको निर्वाचन माघ ५ गते र उपसभामुखको निर्वाचन माघ ७ गते सम्पन्न भैसकेको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको थियो भने सभामुखमा इश्वरी न्यौपाने र उपसभामुखमा मुक्ताकुमारी यादव उम्मेद्वार बन्नुभएको थियो । सभामुख र उपसभामुख दुवै पदमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका देवराज घिमिरे र इन्दिरा रानामगर निर्वाचित हुनुभयो । सभामुख घिमिरे एमालेबाट निर्वाचित हुनुभएको हो भने उपसभामुख रानामगर राष्ट्रिय स्वतन्त्र पार्टीबाट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नै कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पुगेर आफूलाई विश्वासको मतमा समर्थन गर्न आग्रह गरेपछि सभामुख,उपसभामुख र र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा ठूला दलहरुबीच सहमति गर्ने उहाँको प्रस्ताव अनुरुप नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएको थियो ।
सरकारलाई विश्वासको मत दिएपछि कतिपय बुद्धिजीवीहरुले कांग्रेसले प्रतिपक्षको भूमिका छोडेको भनेर आलोचना गरेपछि सभामुख र उपसभामुख पदमा कांग्रेसले उम्मेदवार त उठायो तर गठबन्धनकै उम्मेदवार विजयी बने ।
अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा के हुन्छ ? सत्तापक्षका गठबन्धन संयोजक एमाले अध्यक्ष के.पी.ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमा आफूले उठाएका उम्मेदवारमा मात्र राष्ट्रिय सहमति हुन्छ भनेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ओलीको कब्जाबाट बाहिर उम्किन कठिन देखिएको छ ।
मंंसिर गते सम्पन्न निर्वाचनमा जनताले सबैभन्दा ठूलो दलको रुपमा जिताएको नेपाली कांग्रेस निर्वाचन पहिले गठबन्धन गरिएको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धोका दिएर एमालेसंग घाँटी जोड्न गएपछि अनपेक्षित रुपमा सत्ताबाट बाहिरिएको छ र प्रमुख प्रतिपक्षको मान्यता पनि नदिन सत्ता गठबन्धन अग्रसर भएको देखिन्छ ।
यसैले १५ गतेबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक निकै महत्वपूर्ण देखिन्छ ।


















