Prakash Adhikari January 23, 2023

काठमाडौं, ९ माघ। संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको समग्र सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल वायुुसेवा निगमले गरेको स्वागत कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

संबोधनको क्रममा मन्त्री किराँतीले निगमसंग भएका जहाज, जनशक्ति सहित स्रोतसाधनको सही उपयोग गरेमा संस्थाको छिटो सुधार हुने बताउनुभयो । उहाँले निगमको सुधारमा, निगमको उन्नतिमा आफ्नो सधै साथ र सहयोग रहने कुरा पनि उल्लेख गर्नुभयो ।

मन्त्री किराँतीले निगमलाई आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा प्रतिस्पर्धी र उत्कृष्ट बनाउन तुरुन्तै इटिकटिड.मा जान पनि आग्रह गर्नुभयो । उहाँले निगमको व्यवस्थापनलाई महिनादिन भित्र इटिकटिड. सुरु गर्न निर्देशन दिनुभएको छ । उहाँले जहाजहरुको कार्यतालिका अनुसार शीघ्र मर्मत संभार गर्न, जहाजहरु निर्धारित समयमा उडान हुने अभ्यास गर्न पनि आदेश दिनुभएको छ ।

उहाँले नेपाल वायुसेवा निगम सरकारी स्वामित्वको संस्था भएकोले जनताले पनि यसको सेवालाई नियाल्ने र सरकारले यसका बारेमा उठेका प्रश्नको जवाफ दिनुपर्ने भएकोले निगमको दैनिक रिपोर्ट पनि पेश गर्न पनि निर्देशन दिनुभएको छ ।

‘कुन जहाज कतिबेला उडे ? कहाँ रोकिए ? के कारणले रोकिए भन्ने विषयमा विषयमा दैनिक रिपोर्ट चाहियो, म रिपोर्ट नहेरी घर जान्नँ’, उहाँले भन्नुभयो।

‘विश्वमा युद्ध लड्दा एक सेकेन्डको पनि ठूलो महत्व हुन्छ, युद्धमा संसारभर नाम कमाएको नेपालीलाई नेपालमा कुनै काम समयम हुँदैन भनेर नेपाली समयलाई बदनाम नगराउनुहोस्, तोकिएको समयमै जहाज उडाउनुहोस्, ’,उहाँले भन्नुभयो।

मन्त्री किरातीले निगम सुधारका लागि उपायसहितको योजना पेश गर्न पनि निर्देशन दिनुभएको थियो।

‘जहाज अब उप्रान्त समयमै उड्नु पर्छ, हिजो के भयो त्यो म हेर्दिन, अब नयाँ समय स्टार्ट भइसक्यो अब रोकिनु हुँदैन’,मन्त्रीले भन्नुभयो, ‘नकारात्मक काम गर्दिन, सकारात्मक काममा सधै साथ दिन्छु।’

उहाँले राज्यको गौरवपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने पनि बताउनुभएको थियो ।

निगमको व्यवसायिक काममा आउने विचौलियाहरुलाई चेतावनी दिंदै मन्त्री किरातीले भन्नुभयो, ‘म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’

मन्त्री किराँतीले वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै भन्नुभयो,‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?’

उहाँले आफूले कसैलाई जातजाति,क्षेत्र,राजनीति आस्थाका आधारमा भेदभाव नगर्ने बताउदै भन्नुभयो, कामका आधारमा भेदभाव हुन सक्छ,जसले काम गर्छ त्यसले स्वभाविक रुपमा अवसर पाउछ । मलाई काम चाइयो, निगमले परिणाम देओस् ।’

मन्त्री किराँतीले आफूले निगमलाई आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गर्नुभयो ।

मन्त्री किरातीले नेताकहाँ धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि चेतावनी दिदै भन्नुभयो, ‘यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ, आजसम्म जेजे भयो भयो, आइन्दा यस्तो नहोस् ।’

मन्त्री किराँतीले निगमसँग उनले अनलाइन टिकट कार्यान्वयन नभएकोमा पनि गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ । मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि ’

मन्त्री किराँतीले निगमलाई भर्तिकेन्द्र नबनाउन पनि चेतावनी दिनुभयो । उहाँले निगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने चासो पनि राख्नुभएको थियो ।

कार्यक्रममा राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले आफूहरु देश र जनताको लागि केही गर्ने सकारात्मक सोंच बोकेर आएकोले निगमको सुधार गरेरै छाड्ने बताउनुभएको थियो ।

स्वागत कार्यक्रममा पर्यटन सचिव केदार अधिकारीले निगमले आन्तरिक र अन्तर्राष्ट्रिय क्षेत्रमा उडान बढाउने तयारी गरेको हो र थप जहाज लिनुपर्ने अवस्था रहेको भए विजनेश प्लान तयार पारेर नियमपूर्वक ल्याउनु व्यवस्थापनलाई आदेश दिनुभएको थियो ।

यस पहिले निगमका अध्यक्ष युवराज अधिकारीले निगममा हालै भएका सुधारहरुको उल्लेख गर्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्न, दुवै क्षेत्रमा जहाज खरिद गर्न आवश्यक भएको बताउनुभयो ।उहाँले आन्तरिकतर्फका उडानका लागि थप जहाज खरिद गर्न निगम आफै सक्षम भएको दावी गर्दै निगमले २० बर्षे व्यवसायिक योजना बनाएर मन्त्रालयमा पठाइसकेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयले स्वीकृति दिनासाथ आन्तरिक उडानका जहाजहरु खरिद गर्न निगम तत्पर रहेको बताउनुभएको थियो ।

अध्यक्ष अधिकारीले निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक एप्रोन बनाउन डीपीआर तयार पारिसकेको पनि उल्लेख गर्नुभयो । त्यस्तै निगमका भौतिक सम्पत्तिहरुको मूल्यांकन गरी तिनको सदुपयोग गर्ने योजना बनिरहेको,निगमको टिकट अनलाईनबाट लिन सकिने व्यवस्था गरिएको पनि उहाँले दावी गर्नुभयो । पूर्णतया इटिकेटिड.मा ३ हप्तामा जानसकिने विश्वास अध्यक्ष अधिकारीले व्यक्त गर्नुभएको थियो ।

Share Now

Leave a comment.