Prakash Adhikari January 29, 2023

 

काठमाडौं, १५ माघ । धनकुटा महोत्सवमा आयोजित कन्सर्टमा भागदौड मच्चिदा २४ जना घाइते भएका छन्।

घाइतेहरू मध्ये १६ जनाको धनकुटा अस्पतालमा र ८ जनाको धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार धरानको बीपी प्रतिष्ठानमा उपचाररत दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

गम्भीर घाइते मध्ये एक जना बालक र एक महिला रहेका छन् । अत्यधिक भीडका कारण भाग दौड मच्चिदा दर्शकहरू घाइते भएका थिए ।

करिब ३ हजार क्षमता रहेको स्थानमा धेरै दर्शकको भीड रहेको थियो। दुईतर्फको महोत्सवस्थलको गेट बन्द गरिएपछि बाहिर उल्लेख्य भीड बढेको थियो।

अत्यधिक भीड रहेको बेला एकैपटक बन्द गरिएको गेटको ढोका खोल्दा किचाघान भयो र दर्शकहरु घाइते हुन पुगे।

उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सव घटनापछि तत्काल सञ्चालनमा रोक लगाइएको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिनुभएको छ।

 

Share Now

Leave a comment.