Prakash Adhikari January 30, 2023

 

ढल्केबर, १६ माघ । धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राति ती थुनुवा फरार भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले विभिन्न घटनाका ६ जना आरोपित थुनुवा फरार भएको बताउनुभयो । फरार हुनेहरुमा रोशन महतो, शङ्कर महतो, विनोदकुमार महतो, अनित मण्डल, रोशन यादव र हरि घिसिङ छन् । फरार भएकामध्ये विनोद र अनित लागू औषध, रोशन र हरि अभद्र व्यवहार तथा रोशन र शङ्कर अवैध हातहतियार मुद्दाका आरोपित रहेको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

राति २ देखि ४ बजेको बिचमा ती थुनुवाहरू थुनुवा कक्षको दक्षिणी भागको भित्ता भत्काएर उनीहरू फरार भएको हुनसक्ने बताउँदै फरार भएकाहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको उहाँले बताउनुभयो ।(विजयकुमार साह। गोरखापत्रबाट)

Share Now

Leave a comment.