Prakash Adhikari January 30, 2023

 

पेशावर(पाकिस्तान), १६ माघ(बीबीसी) । पाकिस्तानी सहर पेशावरमा भएको एक बम विस्फोटनमा परेर कम्तीमा ४७ जना मानिसहरू मारिएका छन्।

घटनामा परेर १ सय ५० जनाभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ।

स्थानीय समय अनुसार सोमवार दिउसो झण्डै १ः३० बजेतिर एक मस्जिदमा मानिसहरू भरिभराउ रहेका बेला भएको उक्त विष्फोटन भएको हो।

सुरुवाती विवरणहरूमा मस्जिदभित्रको अघिल्लो लहरमा रहेर हमलाकारीले आत्मघाती विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका थिए। तर त्यसको पुष्टि हुन सकेको छैन।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानले हमला आफूले गराएको जनाएको छ।

उक्त भवनको एउटा भाग ध्वस्त भएको छ र अधिकारीहरूले मानिसहरू भग्नावशेषमा पुरिएको बताएका छन्।

अन्य कैयौँलाई स्थानीय अस्पतालहरूमा लगिएको छ।

विस्फोटनको कारण कारण प्रस्ट भइसकेको छैन।

तर एकजना अधिकारीले प्रहरीलाई लक्षित गरेर विस्फोटन गराइएको र मृत्यु हुने धेरैजना प्रहरीहरू रहेको बताएका छन्।

पेशावरका प्रहरी प्रमुखले स्थानीय सञ्चारमाध्यमहरूलाई बताए अनुसार मस्जिदमा विस्फोट हुँदा त्यहाँ ३०० देखि ४०० को बीचमा प्रहरीहरू उपस्थित थिए।

प्रधानमन्त्रीद्वारा निन्दा
पेशावर

प्रधानमन्त्री शहबाज शरिफले कडा शब्दमा त्यस हमलाको निन्दा गर्नुभएको छ।

एक विज्ञप्तिमार्फत उहाँले घटना गराउनेहरूको ूइस्लामसँगको कुनै साइनो नहुनेू बताउनुभएको छ।

उहाँले थप्नुभयो ूपूरा देश आतङ्कवादको त्रासविरुद्ध उभिएको छ।ू

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तर पश्चिमी सहरमा रहेको सो मस्जिदमा दिउसोको प्रार्थनाको समयमा उक्त विस्फोटन भएको हो।

लेडी रिडिङ अस्पतालका एकजना प्रवक्ताले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै त्यसलाई ‘आपत्कालीन अवस्था’ बताएका छन्।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घटनास्थलमा प्रहरी, सेना र बम निष्क्रिय पार्ने दलका सदस्यहरू पुगेका छन्।

पछिल्ला वर्षहरूमा पेशावरमा कैयौँ ठूला हमला भएका छन्।

गत मार्चमा एउटा सिया मस्जिदमा भएको विस्फोटनमा ६४ जना मारिएका थिए।

सन् २०१४ मा सेनाका छोराछोरी पढ्ने विद्यालयमा भएको आक्रमणमा १ सय ५० जनाको ज्यान गएको थियो।

पछिल्लो घटनासँगै राजधानी ईश्लामावादमा सुरक्षा सतर्कता बढाइएको छ र उक्त सहर पस्ने र त्यहाँबाट निस्कने बिन्दुहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ।

Share Now

Leave a comment.